पहिरोले राहत सामग्री ढुवानीमा समस्या

662 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kapur gaun pahiroधादिङ, जेष्ठ १ – वैशाख १२ गतेदेखि भूकम्पका झट्काले उत्तरी भेक जाने मूलबाटो र ग्रामीण सडकहरूमा आधा दर्जन पहिरोले अवरुद्ध गरेपछि राहत ढुवानीमा कठिनाइ उत्पन्न भएको छ । खाद्य अभाव भएको क्षेत्रमा तत्काल राहत सामग्री लैजान पहिरो पन्छाएर बाटो खुलाउन लैजानुपर्ने आवश्यक लाखौं रकम बराबरका औजार र अन्य सामग्रीहरू सदरमुकामको हेलिप्याडमा थन्किएका छन् । हेलिकप्टर अभावमा सडक मार्गले नछोएका जिल्लाका ५ गाविसहरूमा न त पर्याप्त खाद्य सामग्री लैजान सकिएको छ, न त बाटो खुलाउने औजारहरू नै ।

‘स्वास्थ्य शिविर सकेर फर्काउनुपर्ने विदेशी चिकित्सकहरूलाई पनि फर्काउन सकिएको छैन । चिकित्सक र स्वास्थ्यकर्मीहरूसमेत भोकै पर्ने स्थिति छ । कम्तीमा २ एक दर्जन खेप गर्नुपर्ने हेलिकप्टर पाइएको छैन,’ भूकम्पले धेरै क्षति पुर्‍याएका जिल्लाका उत्तरी भेकमा स्वास्थ्य शिविर र राहत वितरण गर्ने जिम्मा लिएको हिमालयन हेल्थ केयरका जिल्ला जनसम्पर्क अधिकृत शम्भुसिंह ठकुरीले बताए ।

उत्तरी भेकमा लैजान राहत सामग्री र खाद्यान्न बुझेका गाविस सचिवहरूले पनि पहिरोले विभिन्न स्थानमा बाटो रोकेपछि सबै सामग्री सदरमुकामकै गोदाम लिएर राखेका छन् । सम्बन्धित गाउँबाट विस्थापित भएर सदरमुकाम आउनेहरूलाई वितरण भइरहेको छ । ‘ठूलो ठूलो पहिरोले वल्लो गाउँबाट पल्लो गाउँ जान सक्ने अवस्था छैन, राहत सामग्री कसरी लैजानु, भरिया पनि पाउन कठिन भो,’ तिप्लिङ गाविसका कार्यालय सहायक बुद्धि थापा तामाङले बताए ।

गत १२ गते र २९ गते गएको भूकम्पले जिल्लाका उत्तरी भेकका ५ गाविसमा गएको विभिन्न पहिरोले सदरमुकाम लगायत वल्लो-पल्लो गाउँको सम्पर्कविच्छेद गरेको छ । सबैभन्दा ठूला पहिरोले बाटोसमेत अवरुद्ध गरेका तिप्लिङ-८ र ९ बाट पुरुमा पहिरो गएपछि हेल्थ पोस्टमा जाने बाटोसमेत अबरुद्ध छ भने तिप्लिङकै १ देखि ४ नम्बर वडासम्मका ठूला गाउँहरू पहिरोको जोखिममा परेर विस्थापित भएका छन् ।

‘सेर्तुङदेखि  अवाईसम्म जोड्ने बाटो अवरुद्ध भएको  छ भने ९ नम्बर वडा तातोपानीको पहिरोले हेन्दुङको अवस्था हालसम्म अज्ञात रहेको छ,’ हिमालयन हेल्थ केयरका फिल्ड संयोजक सप्तकुमार घले बताउँछन् ।

ल्ाापाको आँखुखोला पुल भत्किएर वारिपारि गर्नसमेत कठिन भएको छ । झार्लाङको ४० वर्ष पुरानो पहिरोले सास्ती र विस्थापित गरेकै बेला बोराङ गाउँमुनि पहिरो गएपछि ३ गाविसमा आवतजावत र ढुवानी अवरुद्ध भएको छ ।

kapur gaiunko६ सय घरधुरी रहेको तिप्लिङमा राहत रकम वितरण भए पनि खाद्यान्न ढुवानी गर्न नसके पछि स्थानीयवासीहरू मर्कामा परेका छन् । गतसाता भारतीय वायु सेनाको हेलिकप्टरले आकाशबाटै चामल र आलु खसाइदिएपछि आलुबारीमा सबै चामल खेर गएको थियो । अरू खेपमा जमिन नजिकै ल्याएर खसालेपछि ३२ बोरा चामल वितरण गर्न लायक भएको गाविस कार्यालय सहायक बताउँछन् ।

प्ाहिरोले ढुवानी अवरुद्ध भएपछि हेलिकप्टर पनि भाडामा नपाएपछि स्थानीय संस्था प्रयास नेपालका करिब ७० उडान राहत सामग्री सदरमुकामै थन्किएको छ भने युनाइटेड मिसन टु नेपालले पनि राहत सामग्री लैजान सकेको छैन ।

पहिरोले पूरै गाउँ विस्थापित

धादिङ- मंगलबार अपराह्नको भूकम्पले रघुकुना लेकबाट आएको पहिरोले लापा-१ र ६ नम्बर वडा कपुरगाउँका ६५ घरधुरी विस्थापित भएका छन् । उक्त गाउँमा २ सय ९७ घरधुरी छन् । उक्त पहिरोले गाउँका २ सय ९५ जना बासिन्दाहरू डाँडामा गएर उद्धारको पर्खाइमा छन् । विस्थापितहरूमध्ये ३ जना गर्भवती र ५० प्रतिशत बालबालिका रहेको स्थानीय गैसस नमस्ते नेपाल विकास केन्द्रका कार्यकारी निर्देशक  दिनेशकुमार तामाङले टेलिफोनमार्फत जानकारी दिएका छन् । तामाङ मंगलबार बिहानै डाइनेस्टी एयरको हेलिकप्टरलाई ९० हजार भाडा दिएर नुन र खाद्यान्न लिई परिवार भेट्न कपुरगाउँ पुगेका थिए ।

गत १२ गतेको भूकम्पले उक्त गाउँका ९० प्रतिशत घर क्षति पुगेको थियो भने ४ जनाको ज्यान गएको थियो । हाल आँखुखोलाको पहिरो र उक्त नयाँ पहिरोले उक्त गाउँलाई घेराबन्दी गरेको छ । स्थानीय बासिन्दाहरू पहिरोबीचमा फसेको जानकारी स्थानीय प्रशासनलाई गराएपछि अपराह्न प्रमुख सेनानी बिजितराज रेग्मी र जिल्ला प्रहरी प्रमुख प्रकाश मल्लले उक्त स्थानको अवलोकन गरेका थिए ।

अवलोकन गरी फर्केका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लका अनुसार ठूलो पहिरोले हालै नोक्सान गर्न नसक्ने भए पनि पूरै गाउँ विस्थापित गराउनुभन्दा हवाई मार्गबाट खाद्यान्न लिएर सहयोग गर्नु उपयुक्त देखिएको बताए ।

चीनको तिब्बतसँग जोडिएको जिल्लाको अन्तिम गाउँ गणेश हिमालको काखैमा छ ।

-इ कान्तिपुरबाट