आँधीबेरीले उडाईदियो भुकम्प पिडितहरुको वासस्थल

668 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

duban maa pareko tripaalधादिङ, २ जेठ – पटक पटकको भुकम्प र त्यस पछिका पराकम्पनको कारण खुल्ला ठाउंमा बस्न पुगेका सर्वसाधरणको विजोग भएको छ । शनिवार दिउंसो आएको हुरी वतासले खुल्ला ठाउंमा राखिएको त्रिपाल उडाउनुका साथै ओढ्ने ओछ्याउने भिजाएपछि भुकम्प पिडितहरु थप पिडामा परेका छन ।
आँधिबेरी चलिरहेको बेला जिल्ला सदरमुकाम धादिङवेसीको विभिन्न स्थानमा रहेको अस्थायी वासस्थलमा पुग्दा हावाले उडाएको त्रिपाल मिलाउन सर्वसाधरणलाई भ्याई नभ्याई नभएको थियो । दिउंसो १ वजे तिरबाट एक घण्टा भन्दा बढी समय सम्म चलेको आँधिहुरी सहित असिना पानीले सदरमुकाम धादिङबेसीका साथै जिल्लाको अधिकांश वस्तिमा प्रभाव पारेको छ । त्रिपाल राखेर वासस्थल मिलाईएको अधिकांश खुल्ला स्थानमा पानी जमेर असारको खेत रोपाई गर्न लागे जस्तो बनेको छ । खुल्लास्थानमा वस्दा पनि उठिवास लागेपछि सर्वसाधरणले निकै सास्ती खेप्नु परेको धुंवाकोट गाविसका कृष्णप्रसाद पण्डितले वताउनु भयो । रोपाईको लागि ठिक पारेजस्तो भएको ठाउंमा गएर सुत्न पनि सकिंदैन, कोठा भित्र पसेर बस्न पनि सकिंदैन, मर्नु न बांच्नुको अवस्था वनाएको पण्डितको दुखेसो थियो ।
10410785_10206209121124422_8081772852568598887_n‘घर जाउं घर छैन, चौरमा त्रिपाल टांगेर बस्दा पनि हुरी वतासले उडाईदियो अव कसरी वालबच्चालाई जोगाउने भन्ने चिन्ता परेको छ ’धादिङबेसी रायटारमा अस्थायी टहरोमा वस्दै आईरहेका दलवहादुर तामाङले वताउनु भयो । बैशाख १२ को भुकम्पले सदरमुकाम धादिङबेसीका अधिकांश पुराना घर भत्काएपछि घरधनी तथा कोठामा वस्दै आईरहेकाहरु खुल्ला चौरमा त्रिपाल हालेर वस्दै आईरहेका छन । यसैगरी पटक पटकको भुकम्प र त्यस पछिका पराकम्पनका कारणले पनि घर भित्र पस्न डराउनेहरुको संख्या धेरैनै रहेको छ । घर भित्र वस्न भुकम्पको डर छ , चौरमा बस्दा हुरी वतास र असिना पानीले विजोग वनायो अव कहां जाने र के गर्ने भन्ने चिन्ताले वालवालिकालाई समेत पिरोल्न थालेको धादिङबेसीका कृष्णवहादुर श्रेष्ठले वताउनु भयो ।
DSC_0504बैशाख १२ र त्यस पछिका दिनमा आएको भुकम्पका कारण धादिङ जिल्लाका ७० हजार घर परिवारको बिच्चली भएको छ । जिल्लाको ग्रामीण भेगका अधिकांश घर भत्किएका छन भने वांकी रहेका घर पनि चिरा चिरा भएर भित्र पस्नै नसक्ने अवस्था रहेको धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद बुर्लाकोटीले वताउनु भयो ।
बर्षा याम शुरु हुन लागिसकेकाले अव छिट्टै भुकम्प पिडितहरुको वसोवासका लागि व्यवस्था मिलाउनु पर्ने सभासद बुर्लाकोटीको भनाई छ । घर भत्किएर पिडामा परेकालाई बर्षाका वेला कसरी जोगाउन सकिन्छ त्यसका लागि सरकारले निति बनाएर कार्यक्रम ल्याउनु पर्ने उहांको सुझाव छ । शनिवारको आंधिहुरीले अधिकांश गाउंवस्तिमा प्रभाव पारेको गाउंलेहरुले वताएका छन ।