घर आउंछु भनेकै दिन भुकम्पमा परेर मरे बिष्णुहरी
773 पटक पढिएको

धादिङ- मुरलीभञ्ज्याङकी शोभा लम्साल वैशाख १२ पछि अझै राम्रोसँग बौरिएकी छैनन्। बेहोस जस्तै छिन्। भूकम्पले उनको परिवारको एकमात्रै आधार श्रीमान् विष्णुहरीलाई खोस्यो। एकातिर श्रीमान् गुमाउनुपर्दाको पीडा अर्कोतिर परिवार पाल्ने जिम्मेवारी थपिएको छ।
तर, अझै आफूलाई बलियो बनाउन भने सकेकी छैनन् उनले। उत्तरी धादिङको रि गाविसमा पर्ने देउराली प्राथमिक विद्यालयको प्रधानाध्यापक थिए शोभाका श्रीमान् विष्णुहरी। विद्यालयबाट एक दुई महिनामा घर आउँथे। धेरैजसो शुक्रबार बेलुका घर आइपुग्थे।
वैशाख १२ गते भने आइतबारको लागि घर आउने योजना बनाएका थिए विष्णुहरीले। ‘भोली बिहानै आउँछु, आज नुवाईधुवाई गर्नुछ भनेर फोन गर्नुभाथ्यो’ भावविह्वल शोभाले भनिन्, ‘त्यो भोली अब कहिल्यै आउँदैन।’

विष्णुहरीका दाजु शिवहरी लम्सालले भने, ‘पुस्तक पसलमा किताबको लागि पैसा पनि तिरिसकेको थियो। किताब लैजानु त कहाँ, ज्यानै लग्यो भूकम्पले।’
विष्णुहरीका २ छोरा छन्। कक्षा २ र ७ मा पढ्ने छोराको कसरी पढाइ अघि बढाउने अझै सोच्न सकेकी छैनन् शोभाले। ‘उहाँ स्कूल पढाउनुहुन्थ्यो, म दुई छोरालाई स्कूल पठाउँथे, खेतीपाती गरेर बसेको थिएँ’ शोभाले थपिन्, ‘अब मैले यी चिचिला २ छोरा कसरी पढाउनु, हुर्काउनु?’

भूकम्पमा परि मृत्यु भएका परिवारलाई सरकारले काज किरियाको लागि ४० हजार रुपैयाँ दिने भनेपनि उनले पाएकी छैनन्। न त भूकम्प पीडितका लागि भनेर जाने राहत शोभाको परिवारसम्म पुगेको छ। शोभा भन्छिन्, …आफू नै सम्हालिन सकेकी छैन म कहाँ राहत खोज्न जाने?’
आईतबारसम्म धादिङमा मृत्यु हुनेको संख्या ७ सय २७ जना पुगेका छन्। ती मध्ये महिला २५३ र बालिका १३० जना छन्। मृत्यु भएकामध्ये सबैको परिवारलाई अझै राहत र किरियाखर्च पुगेको छैन।
धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे पहिलो चरणमा बाँडिएको किरिया खर्च अपुग भएकोले गृह मन्त्रालयबाट आएपछि पुन बाँडिने बताउँछन्। राहत भने सबैजसो स्थानमा पुगेको उनको भनाई छ।
– प्रतिमा सिलवाल/ संचारिका अनलाइनबाट