छोराछोरीको मायाले भूकम्पमा धेरै आमाले ज्यान गुमाए

660 पटक पढिएको

सम्पादक: Dhading News

भूकम्पमा परि मर्ने महिलाको संख्या किन धेरै?

mahila mirtuधादिङ जिल्लाको जीवनपुर गाविस वाड नं. ३ कि शर्मिला ठकुरी दोजिया थिइन्। डाक्टरले वैशाख १५ गते बच्चा जन्माउने दिन तोकिदिएका थिए।

वैशाख १२ मा भूकम्प जाँदा उनी र उनका श्रीमान घर बाहिर सँगै थिए। उनकी छोरी घरभित्र थिइन्। भूकम्प जाँदा घर भत्किन लागेको देखेर छोरीलाई बचाउन गर्भवति शर्मिला नै घरभित्र दौडिइन्। छोरी बचाउन खोज्दा उनकोसमेत ज्यान गयो सेतोपाटीमा खबर छ ।

भूकम्प जाँदा जीवनपुर गाविसको उद्धारमा खटेका असई विजयप्रसाद अधिकारीले यस्ता घटना धेरै देखे।

वडा नं २ मा भत्किएको एउटा घर पन्छाउँदा उनले यस्तो दृश्य देखे-एउटा बच्चा काखमा र अर्को हातमा समातेकी महिला ढोकैमा च्यापिएकि थिइन्। मृत्यु भइसकेको रहेछ।

ढोकामा बच्चासहित च्यापिएका महिला वडा नं १,२,५ र ९ मा पनि देखे। वडा नम्बर ५ मा त उनले ३ वटा घरमा यस्तो दृश्य देखे।

‘भूकम्प आएपछि घर भित्र भएका छोराछोरीलाई बचाँउदा धेरै महिलाले ज्यान गुमाएका छन्,’ उनले सेतोपाटीसँग भने।

उनले भूकम्पमा भत्केका घर पन्छाउँदा, ढोकामा छोराछोरी लिएर, खाँबा समातेर बसेका महिला र भाग्न नसकेका वृद्धबृद्धा धेरै देखे।

त्यो गाउँमा गर्भवति महिला शर्मिला मात्रै परिन्।

जीवनपुर गाविसमा भूकम्पमा परि ५४ जनाको मृत्यु भयो। ती मध्ये ३५महिला र १९ पुरूष थिए।

सरकारी तथ्याङक अनुसार, समग्र धादिङमै भूकम्पमा परि मृत्यु हुनेमा महिलाको संख्या धेरै छ। त्यहाँ ३९३ महिला  र ३३९पुरुषहरुले भूकम्पमा परी ज्यान गुमाए।

सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चोकमा पनि मृत्यु हुनेमा महिलाको संख्या धेरै छ। त्यहाँ मृत्यु भएका ३४२६ जना मध्ये महिला १९४२ छन् भने पुरुष १४९६ छन्। काठमाडौँ मात्रै यस्तो जिल्ला हो जहाँ भूकम्पमा महिला भन्दा धेरै पुरूषको मृत्यु भयो।

मुलुकभरको तथ्यांक हेर्दा पनि यही देखिन्छ। महाभूकम्पमा परि ज्यान गुमाउने ८ हजार ६ सय ७६ मानिसले ज्यान गुमाए। ती मध्ये ४ हजार ७ सय ८१ महिला परे।

महिला अधिकारकर्मी सपना मल्ल प्रधानले महिला धेरै मर्नुमा ‘कल्चरल’ कारण रहेको ट्वीट गरेकी छन्।

 भूकम्प प्रभावित केही क्षेत्रका प्रहरी अधिकारीका अनुसार भूकम्पमा परि धेरैजसो महिलाहरुको मृत्यु हुनुमा सामाजिक कारण रहेको छ।

धादिङ प्रहरी प्रमुख प्रकाश मल्लले धेरै महिलाहरूको ज्यान जानुमा ३ वटा कारण रहेको बताए।

उनले भने-पहिलो कारण सामाजिक संरचना नै हो। धादिङ जिल्लालाई नै आधार मान्ने हो भने पनि यहाँको प्रमुख व्यवसाय कृषि हो। धेरै पुरूषहरू खेतबारीमा र महिलाहरू घरको काममा हुन्छन्। घरमा भएका महिलाहरुले भूकम्प आउँदा कसरी बच्ने भनेर जानकारी नभएका कारण पनि ज्यान गुमाए।

डिएसपी मल्लले देखेको अर्को कारण हो महिलाहरुको शारीरिक संरचना। उनीहरू भाग्न सक्दैनन्। कतिपय गर्भवति भएका कारण पनि ज्यान गुमाए। र तेस्रो कारण हो बालबच्चा र सम्पत्तिको माया।

‘धेरै महिलाले आफ्ना बालबच्चा र सम्पत्ति जोगाउन खोज्दा ज्यान गुमाएका छन्,’उनले भने।

उनका अनुसार घरभित्र रहेको गहना पैसा जोगाउन गएकै बेला घरभत्केर महिलाको ज्यान गएका घटना धेरै छन्।

सिन्धुपाल्चोकका डिएसपी दीपकराज खरेलले पनि भूकम्पमा भत्किएका घरमा परि धेरै महिलाको ज्यान जानुमा यस्तै कारण देख्छन्।

‘१२,१३ र २९ गतेका ठूला-ठूला भूकम्प दिउँसोको समयमा आए, जुन समय खेतबारीमाभन्दा पनि घरको काम र आराम गर्ने बेला थियो,’ उनले भने, ‘घरको धन्दा गर्ने महिलाहरू धेरै परे।’

डिएसपी खरेलका अनुसार, धेरै महिला  भूकम्प आएपछि बाँच्न भनेर घरभित्र छिरेका थिए। ‘महिलामा भूकम्प आउँदा कसरी बच्ने भन्ने जानकारी नभएको देखियो,’ उनले भने।