भूकम्पबाट मृत्यु भएका पच्चीस जनाको सनाखत हुन सकेन

497 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dead Bodies Recoverकाठमाडौँ, १८ जेठ, भूकम्पबाट मृत्यु भएका २५ जनाको शवको अझै सनाखत हुन सकेको छैन । प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीका अनुसार सनाखत हुन नसकेकामध्ये १७ शव पहिचान खुल्ने अवस्थामा र आठ शव क्षतविक्षत् अवस्थामा छन् । सनाखत हुन बाँकी तर पहिचान खुल्ने अवस्थामा रहेका १७ शवमध्ये १३ पुरुष, एक विदेशीसहित तीन महिला र एक बालिका छन् । सनाखत हुन नसकेको शवमध्ये काठमाडौँको १५, रसुवा लाङटाङको सात, दोलखाका दुई र भक्तपुरका एक छन् ।

तस्बिर, औँठा छाप, डिएनएलगायत अभिलेखीकरण सम्पन्न गरी शवलाई त्रिवि शिक्षण अस्पतालको शव गृहमा राखिएको छ । आज मात्रै रसुवाका एक व्यक्तिको शव पहिचान गरी आफन्तले बुझेका छन् । भूकम्पपछि आफन्त हराएका परिवारलाई शिक्षण अस्पतालमा आएर आफ्नो परिवारको सदस्यको शव हो÷होइन भनी पहिचान गर्न प्रहरीले सार्वजनिक रुपमै अपिल गरिसकेको छ ।

भूकम्पमा परी हालसम्म १९५ नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएको निवेदन प्रहरीमा परेको छ ।

प्रहरी नायब महानिरीक्षक भण्डारीका अनुसार हराइरहेकाको परिवारका सदस्यलाई ल्याएर पहिचान नखुलेका शव देखाउने तयारी गरिएको छ । अझै केही समय ती शव राखिने र सो समयमा पनि पहिचान नखुले मुचुल्का गरी अन्त्येष्टि गर्ने तयारी प्रहरीको छ ।

काठमाडौँमा भेटिएका तर पहिचान नखुल्ने शवमध्ये अधिकांश गोँगबु नयाँ बसपार्क क्षेत्रमा भेटिएका हुन् । उनीहरु त्यहाँस्थित होटलका पाहुना भएको अनुमान गरिएको छ ।

उनीहरुको पहिचान खुल्ने विवरण र कपडाको तस्बिर प्रहरीले आफ्नो वेभसाइटमा राखेको छ । भूकम्पबाट मृत्यु भएका आठ हजार ६९२ मध्ये आठ हजार ६६४ जनाको शव आफन्तलाई बुझाई सकिएको प्रहरीले जनाएको छ ।

दोलखा, गोरखालगायत जिल्लामा अझै पनि पुरिएको अवस्थामा शवहरु रहेको र भग्नावशेषबाट शव झिक्ने कार्य जारी रहेकाले पहिचान नहुने अवस्थाका अन्य शव आउन सक्ने प्रहरीको अनुमान छ ।