धादिङ सहित भुकम्प प्रभावित जिल्लाका सिडीओ सरुवा हुँदै

546 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

home-ministry धादिङ–जेठ २६, गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूलाई सरुवाको गृहकार्य थालेको छ । सरुवाको पहिलो सूचीमा भूकम्पले बढी प्रभावित जिल्लाका सीडीओहरू रहेका छन् । सिन्धुपाल्चोक, दोलखा, काभ्रे, रामेछाप, सिन्धुली, नुवाकोट, गोरखा, धादिङ र रसुवा लगायत जिल्लाका सीडीओले विपत व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो चौतर्फी रुपमा आएपछि गृहले सरुवा गर्न लागेको हो ।

सीमा जोडिएका केही जिल्लाका सीडीओले आयातीत राहत सामग्रीको व्यवस्थापनमा लापरवाहीको आरोप खेपेका छन् । केही जिल्लामा भने राजनीतिक दलका नेता–कार्यकर्ताको स्वार्थ व्यवस्थापन गर्न नसक्दा सीडीओ सरुवामा पर्ने भएका छन् । एक वर्ष पुगेका र निवृत्त हुन लागेका सीडीओ पनि सरुवामा पर्नेछन् ।

दोलखाका प्रेमलाल लामिछाने, रामेछापका शम्भुप्रसाद मरासिनी, सिन्धुलीका विष्णुप्रसाद पोखरेल, रसुवाका उद्ववप्रसाद भट्टराई, नुवाकोटका कोशहरि निरौला, धादिङका वासुदेव घिमिरे, गोरखाका उद्ववप्रसाद तिमिल्सिना सरुवा हुने भएका छन् । लामिछाने यसअघि गृहमन्त्री बामदेव गौतमका स्वकीय सचिव थिए ।

नुवाकोटका कांग्रेस नेता तथा अर्थमन्त्री रामशरण महत, अर्जुननरसिंह केसी लगायतले राहत वितरणमा आफूहरूलाई सहयोग नगरेको भन्दै गुनासो गरेकोले उनी सरुवामा पर्ने गृहस्रोतको भनाइ छ । नुवाकोटमा अर्थमन्त्री महतकै सहयोगी रमेश महतले पाल दुरुपयोग गरेको घटनाको निकै चर्चा भएको थियो । निरौला पनि एमाले निकट मानिन्छन् ।

काभ्रे र सिन्धुपाल्चोकका सीडीओ छोटो समयमै सरुवा हुनेमा पर्दै छन् । सुदर्शनप्रसाद ढकाललाई गत चैतमा मात्र अध्यागमन विभाग प्रमुखबाट काभ्रे सरुवा गरिएको थियो । सिन्धुपाल्चोकका सीडीओ विशाल भट्टराईलाई राहत पुर्‍याउन नसकेको आरोपमा स्थानीयले निवासमै आक्रमण गरेपछि त्यस ठाउँमा कृष्ण ज्ञवालीलाई पठाइएको थियो । उनी सबैभन्दा छोटो कार्यकालमा सरुवामा पर्ने स्रोतको भनाइ छ ।

दुईवटा जिल्लाका सीडीओ भूकम्पको क्षतिबारे झूटो विवरण पेस गरेकाले सरुवा हुने भएका छन् । तेह्रथुमका उमेशकुमार ढकालले भत्किँदै नभत्किएका घरलाई भूकम्पले क्षतिग्रस्त बनाएको र कालगतिले मृत्यु भएका दुईजनालाई भूकम्पका कारण मृत्यु भएको विवरण दिएको गृह स्रोतले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बंगलादेशबाट आएको राहत सामग्रीको व्यवस्थापन गर्न नसकेको आरोपमा सरुवा बेहोर्नुपर्ने भएको छ । त्यस ठाउँमा कास्कीका कृष्णबहादुर राउत जाने सम्भावना छ । ललितपुरका यादवप्रसाद कोइराला पनि सरुवाको सूचीमा रहेको छ तर, उनलाई कहाँ पठाउने भन्ने एकिन नभएको बताइएको छ । उनी काठमाडौँ सरुवा हुन खोजिरहेको तर, काठमाडौँका एकनारायण अर्याल गृहमन्त्री गौतमका विश्वासपात्र भएकाले त्यो सहज नरहेको गृह मन्त्रालयका एक सहसचिवको भनाइ छ । स्रोतः ओएनएस न्युज