सोह्र जिल्लाका बस्तीमा पहिराको जोखिम अध्ययन गर्न भूगर्भविद्

765 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Bhukampa-Le-Sadak-Bigareyoकाठमाडौँ, – भूकम्पले जमिन धाँजा फाटी पहिराको जोखिममा रहेका १६ जिल्लामा खानी तथा भूगर्भ विभागले सभासद्को संयोजकत्वमा गठन भएको बस्ती स्थानान्तरण समिति मातहत रही अध्ययन गर्न भूगर्भविद् खटाएको छ ।

लमजुङ, गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, तनहुँ, खोटाङ र ललितपुरमा भूगर्भविद् खटाइएको छ । विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले भन्नुभयो, “काठमाडौँको शङ्करापुर नगरपालिकाको नाङ्लेभारेमा शनिबार दुई जना भूगर्भविद् अध्ययनका लागि जान लागेका छन्, सबै जिल्लामा विभागकै भूगर्भविद् पठाइएको छ । ”

यही जेठ ३२ गतेसम्म द्रुतगतिको भौगर्भिक अध्ययन गरी आगामी असार २ गते गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न लागिएको विभागले जनाएको छ । बस्ती भएका स्थानको भौगर्भिक अध्ययन गरी सार्न आवश्यक भए÷नभएको प्रतिवेदन पेस गर्ने एकसूत्रीय अभियानका लागि विज्ञलाई सभासद्को नेतृत्वको समूहमा पठाइएको हो ।

मनसुन सुरु हुनु अगावै जोखिममा रहेका बस्ती सार्ने उद्देश्यले छिटो अध्ययन गराउन लागिएको विभागले जनाएको छ । जिल्ला गएका विज्ञलाई प्रजिअको सरुवा भएकाले आवश्यक सामग्री जुट्न गाह्रो भएकाले समस्या परेको गुनासो आएको छ । सभासद्ले धेरै स्थानका बस्तीको अध्ययन गर्न माग गरेकामा समय र सवारीसाधनको अभावमा काम गर्न नसकिने खबर आएको महानिर्देशक महतोले बताउनुभयो ।

यसैगरी हिमताल विस्फोट हुन सक्ने सम्भावनाको अध्ययन गर्न सोलुखुम्बु र दोलखा जान लागेको जल तथा मौसम विज्ञान विभागका भूगर्भविद् र जल विज्ञानविद्को समूह आज मौसमको प्रतिकूलताका कारण जान नसकेको महानिर्देशक ऋषिराम शर्माले जानकारी दिनुभयो । “बुधबार सोलुखुम्बुको दूधकोसीमा अप्रत्याशित रुपमा बाढी आएको र त्यस दिन पानी पनि नपरेकाले सानो हिमताल फुटेको हुन सक्ने आशङ्कामा विज्ञबाट स्थलगत अध्ययन गराउन लागिएको हो” शर्माले भन्नुभयो ।

हिमताल फुट्ने उच्च जोखिममा रहेकाले सोलुखुम्बुको इम्जा हिमताल र दोलखाको च्छो रोल्पा हिमतालको समेत अध्ययन गराउन लागिएको विभागले जनाएको छ । शनिबार पनि मौसम सफा नहुने पूर्वानुमान भएकाले आइतबार मात्र समूह स्थलगत अध्ययनका लागि जाने छ ।