भूकम्पले कुन क्षेत्रमा कति क्षति ? पुनर्निर्माणमा साढे ६ खर्ब लाग्ने
586 पटक पढिएको
जेठ ३०, काठमाडौं । भूकम्पले मुलुकको अर्थतन्त्रमा सात खर्ब रुपैयाँबराबरको प्रभाव पारेको छ । भौतिक क्षतिमा पाँच खर्ब १३ अर्ब र नोक्सानी एक खर्ब ८७ अर्ब भएको राष्ट्रिय योजना आयोगको प्रारम्भिक प्रतिवेदन छ । योजना आयोगले स्वदेश तथा विदेशका साढे दुई सयभन्दा बढी विज्ञको सहभागितामा नेपाल पोस्ट–डिजास्टर निड एसेस्मेन्ट (पिडिएनए)को प्रारम्भिक प्रतिवेदन तयार पारेको हो ।
१२ वैशाखको भूकम्प र त्यसयताका परकम्पबाट मुलुकको यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा, घरजग्गा कारोबार, सार्वजनिक प्रशासन, सामुदायिक तथा व्यक्तिगत सेवा क्षेत्र प्रभावित छन् । योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले भूकम्पले गरेको क्षतिबाट उठ्न नेपाललाई ६ खर्ब ६६ अर्ब ३० करोड ६४ लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । यो रकम आन्तरिक र दातृ निकायबाट जुटाउन सकिने पनि बताए । ‘आन्तरिक स्रोत र दातृ निकायबाट रकम जुटाउन सकिन्छ,’ उपाध्यक्ष पोखरेलले नयाँ पत्रिकासँग भने, ‘क्षति र नवनिर्माणका लागि आवश्यक पर्ने रकम दाता सम्मेलनमा पेस गरी लगानीका लागि आग्रह गर्नेछौँ ।’ १० असारमा काठमाडौंमा दाता सम्मेलन हुँदै छ । आयोगको शुक्रबार बसेको पूर्ण बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले पिडिएनएलाई सर्वस्वीकार्य बनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा कोइरालाले भने, ‘भूकम्पबाट भएको क्षतिको मूल्यांकन, क्षतिग्रस्त संरचनाको निर्माण र आर्थिक तथा सामाजिक गतिविधिलाई सामान्य अवस्थामा ल्याउन आवश्यक आर्थिक लगानीको मूल्यांकनलाई बढी विश्वसनीय, भरपर्दो र सर्वस्वीकार्य बनाउनुपर्छ ।’ आन्तरिक र दातृ निकायबाट रकम जुटाएर भूकम्पले क्षति पुर्याएका भौतिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा खर्च गरिने योजना आयोगले जनाएको छ ।
आयोगका अनुसार बाटो, पुल, विद्युत्, सञ्चार, खानेपानी, अस्पताल, विद्यालय, कलेज, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा, सरकारी कार्यालयका साथै रंगशाला, कभर्ड हलजस्ता संरचना पुनर्निर्माण गर्नुपर्नेछ । आयोगका सदस्य अर्थविद् डा. चन्द्रमणि अधिकारीले भूकम्पबाट सबैभन्दा बढी हाउजिङ तथा मानवीय बस्तीमा क्षति पुगेको बताए । ‘यो क्षेत्रको समग्र प्रभाव तीन खर्ब ५० अर्ब ३७ करोड ९० लाख छ,’ उनले भने, ‘यो क्षेत्रको पुनर्निर्माणका लागि तीन खर्ब २७ अर्ब ७६ करोड २० लाख लाग्ने प्रारम्भिक अनुमान छ ।’ भूकम्पले पाँच लाख १० हजार सात सय ६२ घरलाई पूर्ण रूपमा क्षति पुर्याएको छ ।
दुई लाख ९१ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । यसैगरी दुई हजार ६ सय ४९ सरकारी भवनमा पूर्ण क्षति पुगेको छ । तीन हजार ६ सय १७ सरकारी भवनमा आंशिक क्षति भएको छ ।
–