किराञ्चोक कार्किडाँडा माबि स्थापनाको १०० बर्ष,शताव्दी महोत्सव गरिंदै
95 पटक पढिएको
धादिङ न्यूज समाचारदाता
गल्छी (धादिङ), ३ माघ २०८१ । धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्किडाँडामा रहेको किराञ्चोक कार्किडाँडा माध्यमिक बिद्यालय स्थापना भएको १०० बर्ष पुगेको छ । स्थापनाको एक सय बर्ष पुगेको खुसीयालीमा बिद्यालयले यहि माघ १९ देखि २१ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरि शताव्दी महोत्सव मनाउने भएको छ ।
स्थापनाको एक सय बर्ष पुगेको अवसरमा विविध कार्यक्रम सहित शताव्दी महोत्सव मनाउन लागेको विद्यालयले जानकारी दिएको छ । सो अवसर पारेर गल्छी गाउँपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, खेलकुद, शिक्षक बिद्यार्थीहरुबाट नृत्यका साथै पूर्व शिक्षक, बिद्यार्थी, बिद्यालयका संस्थापकहरुलाई सम्मान कार्यक्रम गर्न लागिएको बिद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारीले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।
बिक्रम सम्वत १९८२ माघ २१ गतेका दिन भाषा पाठशालाका रुपमा स्थापना भएको किराञ्चोक कार्कीडाँडा मावि गल्छी गाउँपालिकाको मात्रै होइन जिल्लाकै पुरानो बिद्यालयको रुपमा चिनिन्छ । धेरै बर्ष सम्म खुल्ला चौर, चौतारो, कटुसे छाप्रो, ढुंगा माटोको गाह्रो भएको कोठामा पढाई सञ्चालन हुने गरेकोमा अहिले सुविधा सम्पन्न भवन सहितको विद्यालयमा पठन पाठन हुने गरेको छ ।
धादिङ जिल्लाभर चार वटा भाषा पाठशाला स्थापना हुँदा सात सय किराञ्चोक क्षेत्रलाई समेटेर १९८२ सालमा यस बिद्यालयको स्थापना भएको थियो । भाषा पाठशाला स्थापनाको केही बर्ष सम्म चौतारामा राखेर रुदी, चण्डी,कौमदी,अमरकोष लगायतका पढाई सञ्चालन गरिएको भाषा पाठशालामा २००४ सालबाट संस्कृत बाहेक अन्य पठन पाठन शुरु भएको नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिका पूर्व अध्यक्ष समेत रहनु भएका सोही बिद्यालयका पूर्व बिद्याथी प्रा.डा.रामचन्द्र गौतम बताउनुहुन्छ ।
यस बिद्यालयमा अध्ययन गर्ने पूर्व बिद्यार्थी मध्ये बिशिष्ठ तहमा पुग्नेमा प्रा.डा. गौतम, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, पूर्व प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, बरिष्ठ साहित्यकार कृष्ण गौतम लगायत हुनुहुन्छ ।
भाषा पाठशाला हुँदै २०३२ सालमा प्राथमिक बिद्यालय,२०३४ मा निम्न माध्यमिक बिद्यालय, २०५४ मा माध्यमिक बिद्यालय र २०६८ मा उच्च माविको अनुमति पाएको यस बिद्यलायबाट अहिले सम्म ७९४ जनाले एसएलसी एसइई र २०० जनाले १२ कक्षा उतिर्ण गरेको बिद्यालयका प्रधानाध्यापक अधिकारीले बताउनु भयो ।