अस्थाई शिविरमा बसेका बालिकामाथि यौन हिंसा
547 पटक पढिएको
धादिङ– असार ३, भुकम्पपछि पालमा बसिरहेका महिला तथा किशोरीमाथि दुव्र्यवहार हुने गरेको छ । गाउँनै विस्थापित भएर खुल्ला चउरमा बसेका किशोरी सबैभन्दा असुरक्षित हुने गरेका छन् । विपत्तिको सयमा गाउँनै विस्थापित भएर अस्थाई शिविरमा बसेकाको सुरक्षाको लागि प्रहरी परिचालन हुनुपर्ने हो तर धादिङमा त्यस्तो हुनसकेको छैन । अन्य जिल्लामा भुकम्पपछि हिंसा र अपराधका घट्ना बढ्न थालेपछि रोकथामका लागि पिडित बसेको अस्थाई शिविरमा प्रहरी परिचालन गरिएको छ । काठमाण्डौ लगायत अन्य भुकम्प पीडित नागरिकहरुको सुरक्षाको प्रहरीले विस्थापित बसेका ठाउँमा नै गएर स्थाई सुरक्षा दिन थालेको छ । महिला हिंसा हुने जिल्ला मध्ये धादिङ पनि अग्र स्थानमा छ तर विपत्तिको समयमा हुने क्रियाकलाप रोक्नको लागि प्रहरीले कुनै चासो दिन सकेको छैन । भुकम्प पश्चात धादिङको किरान्चोक र नौविसेमा बालिका बलात्कारका घट्ना भईसकेको छ । अस्थाई शिविरमा धेरै परिवार एकै स्थानमा बस्नुपर्ने बाध्यताको कारणले पनि हिंसा बढेको हो । अभिभावक काममा गएको समयमा बालिकाहरुलाई ललाई फकाई यौन हिंसा गर्ने गरेका छन् । आफु बसेका स्थानमा कुनै असुरक्षा महसुस भएका तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यलय धादिङले अनुरोध गरेको छ ।