संविधानको प्रारूप तयार, नयाँ संविधानमा ३५ भाग, ३१२ धारा

544 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं-संविधान मस्यौदा समितिको कार्यदलले संविधानको प्रारूप तयार पारेको छ। नयाँ संविधान ३५ भाग र ३ सय १२ धाराको हुनेछ। समितिका सभापति कृष्णप्रसाद सिटौलाको नेतृत्वमा मातहत पाँच उपसमितिका संयोजक रहेको कार्यदलले केही विवादित विषय यथावत राख्दै संविधानको प्रारूप तयार पारेको हो नागरिक दैनिकमा खबर छ ।

download (1)फरक–फरक प्रतिवेदन अध्ययन गरेर प्रारूप तयार गरेको कार्यदलले जनाएको छ। संविधानको प्रारूपमा मौलिक अधिकारका विषय ३३ वटा समेटिएका छन्। यस्तै, ९ वटा आयोग रहने उल्लेख छ। तर, केही सदस्यले एउटा आयोग हटाउनुपर्ने भन्दै फरक मत राखेका छन्। सरकारले नै आयोगका पदाधिकारी र सदस्य नियुक्ति गर्ने भएकाले लेखापरीक्षण आयोग बनाउन नहुने धारणा केही सदस्यको छ।
नेपालको अन्तरिम संविधानमा २५ भाग र १ सय ६७ धारा छन्। कार्यदलले तयार पारेको संविधानको प्रारूप मस्यौदा समितिको पूर्ण बैठकमा बुधबार पेस गरिनेछ। त्यसअघि बिहान १० बजे कार्यदलको बैठक बसेर बाँकी रहेका केही विषय टुंगो लगाइने समिति स्रोतले जानकारी दियो।
‘नागरिकता, संविधान संशोधन लगायत विषयमा लगभग सहमति जुटिसकेको छ,’ समिति स्रोतले भन्यो, ‘बहुलवाद कहाँ राख्ने भन्नेमा प्रमुख दलहरूबीच फरक अडान रहेकाले शीर्ष नेताहरूसँग पनि छलफल गरिएको छ। बुधबार बिहान बस्ने बैठकले यसको पनि टुंगो लगाउनेछ।’
बहुलवाद र स्थानीय निकायको गठन व्यवस्था के हुने, जिल्ला रहने वा नरहने लगायतका विषयमा विवाद कायमै छ।
कार्यदलका संयोजक एवं मस्यौदा समितिका सभापति सिटौला नेतृत्वको समितिले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेतालाई मस्यौदा निर्माणको विषयमा जानकारी गराएको छ। समितिले बहुलवाद, स्थानीय निकायको गठन व्यवस्था के हुने, जिल्ला रहने वा नरहने लगायतका विषयमा दलहरूबीच सहमति हुन नसकेको भन्दै विवादित विषयमा शीर्ष तहबाट नै समाधान खोज्न आग्रह गरेको छ।
‘मस्यौदा समितिले अहिलेसम्म गरेको काम शीर्ष तहमा जानकारी गराएको छ,’ एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, ‘तोकिएको समयभित्रै काम सक्ने उहाँहरूले विश्वास दिलाउनुभएको छ।’
मस्यौदा समितिको आग्रहअनुसार विवादित विषयमा सहमति जुटाउन प्रमुख चार दलका शीर्ष नेता मस्यौदा समितिका एक सहयोगीका साथ बुधबार बिहान छलफलमा जुट्ने भएका छन्। ‘टुंगिन बाँकी कतिपय विषयमा सहमति खोज्न भोलि (बुधबार) बिहान शीर्ष तहमा छलफल हुन्छ,’ श्रेष्ठले भने, ‘मस्यौदा समितिको बैठकअघि नै विवादित विषयमा दलीय सहमति खोज्ने प्रयासमा छौं।’
एमाले नेता एवं मस्यौदा समिति सदस्य भरतमोहन अधिकारीले बुधबार समितिमा प्रतिवेदन बुझाइने जानकारी दिए। केही सामान्य विवाद रहे पनि बिहानसम्म मिलाएर संविधानको प्रारूप तयार पारेको उनले जानकारी दिए।
कार्यदलका सदस्य एवं उपसमिति संयोजक अइन्द्रसुन्दर नेम्वाङले बुधबार बस्ने मस्यौदा समितिको बैठकमा संविधानको प्रारूपअनुसार तयार भएको प्रतिवेदन पेस गर्ने बताए।
‘केही फरक मतलाई पनि समावेश गरेर प्रतिवेदनको चाङबाट एउटा संविधानको प्रारूप तयार पारेका छौं,’ नेम्वाङले नागरिकसँग भने, ‘बिहान १० बजे नमिलेका सामान्य विषय मिलाएर दिउँसो मस्यौदा समितिमा पेस गर्छौं।’
मस्यौदा समितिलाई संविधानसभाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पठाएका विवादित विषयमा पनि सहमति गरी संविधानको पहिलो मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको छ।
समितिलाई संविधानसभाले दिएको समय १३ गते सकिन्छ। मस्यौदा समितिमा संविधानको प्रारूपमाथि फेरि छलफल गरी पहिलो मस्यौदा संविधानसभामा पेस गरिनेछ। त्यसपछि जनताको सुझावका लागि जिल्लामा पठाइने संविधानसभा सचिवालयले जनाएको छ।
संविधान संशोधन, नागरिकता, बहुलवाद, पुनर्नियुक्ति लगायतका विषयमा दलहरूबीच कुरा मिल्न बाँकी छ। ‘संविधान संशोधन र नागरिकताका सम्बन्धमा देखिएको विवाद लगभग हल गरेका छौं,’ नेम्वाङले भने, ‘त्यसभित्र पनि केही शब्दमा रहेका विवाद बिहान बसेर टुंगो लगाउँछौं।’