भूमिसम्बन्धी ऐन २०२१ संशोधन विेधेयक पारित, आवास क्षेत्र तोकिएको स्थानमा मात्रै घर बनाउनुपर्ने

945 पटक पढिएको

सम्पादक: Dhading News

 Gairigaun-Rolpa_20150703091205धादिङ–असार १८,   वर्षौंदेखि बहसमा तानिएको भूमिको वर्गीकरण विषयले अन्तत: मान्यता पाएको छ । अब आफ्नो स्वामित्वमा रहेको भन्दै जुनसुकै ठाउँको जमिनमा मनपरी घर, उद्योग बनाउन पाइँदैन ।

त्यसैगरी खानी, वन, सांस्कृतिक, जोखिम, नदी क्षेत्रमा बस्ती बसाल्न वा बस्न मिल्दैन । भूमिसम्बन्धी ५१ वर्षअघि बनेको ऐन संशोधन विधेयकलाई जनप्रतिनिधि नभएकाले मान्यता पाउन सकेको थिएन । संसदको कृषि तथा जलस्रोत समिति परिमार्जनसहित पारित गरेको हो । समितिले संसदको चालू वर्षे अधिवेशनबाटै उक्त विधेयक पारित गर्ने बाटो खोलिदिएको छ । संसदले ०७१ मंसिर २ गते समितिमा पठाएको विधेयकमाथि समितिले दफाबार छलफल गर्दै बिहीबार सभामा पेस गर्ने निर्णय गरेको हो ।

 भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा भूमिको समुचित उपयोग राख्दै समितिले जमिनलाई १२ वटा जोन (क्षेत्र) मा वर्गीकरण गरेको हो । यो लगायत संशोधन भएका प्रस्तावलाई बिहीबारको समिति बैठकले सर्वसम्मत पारित गरेको छ । यो ऐन पारित भएपछि अब देशभरको जमिनलाई भूमि सुधार तथा व्यवस्था मन्त्रालयले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी/खनिज, निर्माण सामग्री उत्खनन क्षेत्रमा वर्गीकरण गर्नेछ । त्यसैगरी सांस्कृतिक र पुरातात्त्विक महत्त्वको क्षेत्र, नदीनाला र तालतलैया, वन, सार्वजनिक उपभोग/खुला, जोखिम र तोकिए बमोजिमका अन्य क्षेत्र गरी १२ वटा क्षेत्रमा जमिनको वर्गीकरण हुनेछ । ‘अब जुन प्रयोजनका लागि जमिनको वर्गीकरण गरिनेछ, त्यसैअनुसार मात्रै उपयोग गर्न मिल्नेछ,’ समितिका सभापति गगन थापाले भने, ‘आफ्नो स्वामित्वको जमिन हुँदैमा वर्गीकरण विपरीत मनपरी निर्माण गर्न, प्लटिङ गर्न पाइने छैन ।’

यो विधेयकले सरकारले तोकेको व्यक्तिको अध्यक्षतामा भू–उपयोग परिषद् पनि गठन हुने व्यवस्था गरेको छ । १५ वटा मन्त्रालयका सचिवसहित २० सदस्यीय परिषद्ले एउटा प्रयोजनका लागि वर्गीकरण गरिएको जग्गा प्राविधिकहरूको प्रतिवेदनका आधारमा नेपाल सरकारको स्वीकृतिमा अर्को प्रयोजनका लागि सिफारिस गर्न सक्नेछ ।

भूमिको वर्गीकरण नभएका कारण कृषियोग्य जमिनमा बढेको अव्यवस्थित बस्ती, प्राकृतिक स्रोतको दोहन, जंगल फँडानीलगायत समस्या थिए । वर्गीकरण नहुँदा कृषियोग्य जमिन घटेर खाद्यान्न उत्पादनमा असर परेको थियो भने जभाभावी सहरीकरण बढेको थियो ।

मस्यौदामा राखिएको यो प्रावधानले अब भू–उपयोग नीति कार्यान्वयन गर्न पनि सजिलो हुने मन्त्रालयले जनाएको छ । अब आवास क्षेत्र तोकिएको स्थानमा मात्रै घर बनाउनुपर्ने छ । कसैले जोखिम क्षेत्र, वन, नदी तालतलैया आसपासमा घर बनाउन पाउने छैन । त्यस्तो घर बनाउन कडाइ गरिनेछ । कसैले नियम मिचेर बनाए हुने प्राकृतिकलगायत विपत्तिमा क्षतिपूर्तिको दाबेदार हुने छैन । भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक, २०७१ माथि सांसदहरूले राखेका संशोधनसहित विधेयकको औचित्य र आवश्यकताको आधारमा दफाबार छलफल गरी समितिले बिहीबार प्रतिवेदनसहित सभामा विधेयक पठाउने निर्णय गरेको छ ।