धादिङका शिक्षकहरुको गुनासो,हाजिर गर्नको लागि मात्रै स्कुल आएजस्तो भयो

511 पटक पढिएको

सम्पादक: Dhading News

 dhading school 2धादिङ, असार २० – पक्की भवन भुईंचालोले भत्कायो । खेल्ने मैदानमा अस्थायी टहरा बनाइएको छ । टहराभित्र नाम मात्रैको कक्षाकोठामा जसोतसो पठनपाठन भैरहेको छ । तर भवनभित्रको जस्तो वातावरण छैन । एउटै छाप्रोमा दुईवटा कक्षाका विद्यार्थी राखिएका छन् ।

दुई वटा कक्षाको पढाई एउटै छाप्रोमुनी हुन्छ । खुला टहरामा पढाई हुँदा बाहिरको हल्लाले केही बुझिंदैन । दुईवटा कक्षाका विद्यार्थी एकै ठाउँमा बस्दा गर्मीले उकुसमुकुस भएको छ । तर पढाई भएको बेला कक्षा छोडेर जान मिल्दैन । भूकम्प अति प्रभावित धादिङ नलाङको मिन्दुका माविमा हिजोआज यस्तै वातावरणमा जसोतसो पढाइ भैरहेको छ । भूकम्पले कक्षाकोठा भत्काएपछि बिभिन्न संस्थाको सहयोगमा ४ वटा टहरा बनाएर कक्षा चलाइएको छ । यस्ता टहराभित्र बसेर पढ्दा विद्यार्थीले अनेक समस्या भोग्दैछन ।

‘टहरामा बस्दा गर्मीले निद्रा मात्रै लाग्छ, बाहिरको हल्लाले सरले पढाएको पनि सुनिंदैन र दिनभरको हल्लाले राती घरमा पनि पढ्न मन लाग्दैन’ कक्षा ८ मा पढ् बिपना भट्टले भनिन्, ‘घरबाट स्कुल आयो, यहाँ खानेपानी पनि छैन र शौचालय गर्न पनि पारी डाँडा जानुपर्छ ।’

जेठ १७ गतेदेखि विद्यालय खुलाउन  शिक्षा मन्त्रालयले निर्देशन दियो । तर काठमाडौं लगायत धेरै गाउँठाउँका विद्यायलमा त्यतिबेला छाप्रो बनिसकेको थिएन । केही विद्यालयले खुला चौरमा विद्यालय चलाए भने केहीले पालको जोहो गरेर विद्यालय खुलाए । तर विद्यायल खुलेको १ महिना भन्दा धेरै भैसक्दा पनि पढाई औपचारिकतामा मात्रै सीमित छ । मिन्दुका मावि नलाङका सहायक प्रधानाध्यापक कृष्णप्रसाद सिलवालले भन्नुभयो, ‘विद्यालयमा विद्यार्थीले दु:ख पाए भन्ने हामीलाई पनि राम्ररी हेक्का छ, तर हामीले पनि गर्न केही सक्दैनौं’ विद्यालयका समस्या पोख्दै उहाँले भन्नुभयो, ‘वास्तवमै भन्नुपर्दा हामी त विद्यालयमा हाजिर गर्न मात्रै आएको जस्तो भएको छ, सरकारले विद्यालय खुलाउन भन्यो हामीले खुलायौं,  तर समस्या यत्रतत्र छन् ।’

विद्यार्थीलाई गाह्रो भो भनेर केही ठाउँमा त शिक्षक, अभिभावक र विद्यार्थी मिलेर अलि व्यवस्थित खालको कक्षा पनि बनाएका छन । बनाउन नभ्याएका ठाउँमा खतराको संकेत स्वरुप रातो स्टिकर  लगाइएको कक्षामा पनि विद्यार्थी पढिरहेका छन् । ‘हामीले तीतो यथार्थ स्वीकार्नुपर्छ विद्यालयका भवन भत्किएका र  टेन्टका कक्षाले पनि नपुगेर हामीले २ वटा कक्षा असुरक्षित भवनमा चलाएका छौं’ महालक्ष्मी उच्च मावि लक्ष्मीबजार गोरखाका प्रधानाध्यापक  चुडामणि काप्रीले भन्नुभयो, ‘७ सय विद्यार्थीलाई  विद्यालयमा व्यावस्थापन गर्न निकै गार्हो भएको छ ।’

महालक्ष्मी उच्च माविमा जस्तापाता सहितको व्यवस्थित विद्यालय बनाउन स्थानिय अभिभावक, शिक्षक र व्यावस्थापन समितीबाट १ हजार रुपैंयाका दरले पैसा उठाएर केही जस्ता सहितका केही अस्थायी भवन बनाएपनि अझै भवनको अभाव छ । भूकम्पको कारण बन्द भएका विद्यालय खुलेको एक महिना भन्दा बढी भैसक्दा पनि  भरपर्दो छाना, शौचालय, खानेपानी लगायतका समस्याले पठनपाठन प्रभावकारी हुन सकेको छैन । सरकारले सबै विद्यालयमा आवश्यक पूर्वाधार बनाएर विद्यालय खुलाएको दावी गरेपनि भूकम्प प्रभावित जिल्लाका विद्यालयमा पढ्ने वातावरण बन्नै बाँकी छ । भूकम्पले  धादिङमा झण्डै ३१ सय र गोरखामा  झण्डै १२ सय कक्षाकोठा  भत्किएका छन । देशभर ३० हजार कक्षाकोठा भत्किएको सरकारी तथ्यांक छ । स्रोतः उज्यालोबाट