नर्सिङ पढ्न चाहन्छिन् सरिता तर कसले दिने अवसर ?

545 पटक पढिएको

सम्पादक: Dhading News

विनोदबाबु रिजाल

जोगीमारा (धादिङ)÷सम्भवतः चेपाङ परिवारबाट एसएसली परीक्षामा यति नम्बर ल्याउने उनी पहिलो छात्रा हुन् । बजारका विद्यार्थीले ल्याएको नम्बर हेर्दा सामान्य नै लाग्ला । तर, उनी जन्मेको घर, हुर्केको समुदाय र पढेको विद्यालयको पृष्ठभूमि सबै हेर्दा अहिलेसम्मकै उत्कृष्ट छ ।

धादिङको जोगीमारा गाउँ विकास समितिको वडा नम्बर १ खोरभञ्ज्याङमा श्री राष्ट्रिय मावि छ । तह मावि भएपनि अधिकांश शिक्षक प्रावि दरबन्दी वा निजीस्रोतका छन् । अर्थात माविमा सरकारी सुविधा छैन । सीमान्तकृत चेपाङ, जनजाति र कमजोर आर्थिक अवस्था भएका ब्राहमण क्षेत्री समुदायका विद्यार्थी पढ्छन् । त्यहीमध्ये सरिता चेपाङ उत्कृष्ट छिन् । कक्षा १ बाट दोस्रो हुनुबाहेक अहिलेसम्म कसैले जितेका छैनन् । २०७१ सालको एसएलसीमा उनले ७४.१३ प्रतिशत अंक ल्याइन् । सो विद्यालयमा त उनी पहिलो नै हुन्, चेपाङ छात्रामा यो अंक अहिलेसम्मकै बढी भएको चेपाङ अभियन्ता केपीकिरण शर्मा बताउँछन् ।

घरबाट खोरभञ्ज्याङको डाँडो चढ्न उनलाई एक घण्टा लाग्छ । १० कक्षासम्मै उनले बिहान एक भारी घाँस काटेपछि विद्यालयतिर पाइला चालिन् । “बिहान उठेपछि घरको काम सकेर घाँस काट्न गएँ”, सरिताले सम्झिइन्, “फर्केपछि हतारिएर भात खाई विद्यालय जान्थें ।” उनले विद्यालयमा खाजा खर्च कहिल्यै पाइनन् । न पढ्ने सामग्री भनेजस्तै पाइन् । “तर, जहिल्यै बोर्डफस्र्ट”, शिक्षक दिपक रिजालले भने, “एसएलसीमा विशिष्ट ल्याउने ठानेका थियौं, अलि कम भयो तैपनि उत्कृष्ट हो ।”

सरिताको घर औसत गाउँलेको जस्तै छ । बाआमा मेहनती छन् । पाखोबारी नै भएपनि खुब मेहनत गर्छन् । मकै फलाउँछन् । धान रोप्न पाखोमा मिल्दैन । सिंचाई पनि छैन । कतै तरकारीपनि फलाउँछन् । “यही तरकारी बेचेर अहिलेसम्म पढाएँ”, सरिताका बाबु शेरबहादुरले भने, “अब ठूलो कक्षा कसरी पढाउनू ?”

सरिताको इच्छा नर्सिङ पढ्ने छ । “नर्सलाई अस्पतालमा देखें, चलचित्रमा पनि देखें”, उनले भनिन्, “अनि यही बन्न मन लागेर आयो ।” तर, नर्सिङ पढ्नु ‘आकाशको फल आँखा तरी मर’ भने झै हो भन्ने उनको परिवारलाई लाग्छ । “४ लाख लाग्छ रे”, शेरबहादुरले भने, “यो गरिबले कहाँबाट ल्याउनु त्यत्रो ?”

सरिताकी बाआमा दुवैले अक्षर चिनेनन् । तर, छोराछोरीलाई पढ्न रोकेनन् । “तरकारी बेच्दा कति आफू राख्ने, कति फिर्ता दिने मैले जानिनँ”, सरिताकी आमा समीले भनिन्, “अनि मेरा नानीहरु यस्तै नहोस् भनेर पढाउनुपर्छ भन्ने लाग्यो ।” उनकी ४ छोरी १ छोरा छन् । १ छोरा बितेर गए । सरिताकी दिदी भीममाया पनि उत्कृष्ट छिन् । उनले पनि खोरभञ्ज्याङ नै पढिन् । २०६७ सालको एसएलसीमा ६४ प्रतिशत ल्याइन् । १ घण्टा ओरालो झरेर मझिमटार १२ कक्षा उत्तीर्ण गरिन् । उनको विहे भइसक्यो । “पैसा नभएर राम्रो ठाउँ धेरै पढाउन सकिनँ”, समीले सम्झिइन्, “अब यस(सरिता)लाई पनि यस्तै नहोस् भनेको खै के गर्नु ।”

सरितालाई घर छोडेर शहरमा पढ्ने रहर छ । तर, धन छैन । कसैले सहयोग गरेर पढाइदिए शेरबहादुर र समीपनि पठाउन तयार छन् । “यिनले धेरै राम्रो गर्नेछिन्”, शिक्षक रिजालपनि विश्वस्त छन्, “अवसर पाए अघि बढ्छिन् ।” तर, त्यस्तो सहयोग कसले गर्ला ? चेपाङ परिवार अलमलमा छन् ।

-खबर चितवनबाट