एसएलसी पास त गरियो, अब जाने कहाँ!

651 पटक पढिएको

सम्पादक: Dhading News

  • f80591dba5f5d18ffed7380638073a07_Lआमा बाबुको साथमा राम (कालो टिसर्ट) र लक्ष्मण (सेतो टिसर्ट)। 
आमडाँडा (धादिङ)- सहर बजारका विद्यार्थी कक्षा १० उत्तीर्ण गरेर एसएलसी परीक्षा दिनेबित्तिकै भविष्यमा के बन्ने भन्ने योजना निर्माण गर्न ब्रिजकोर्स गर्छन्। ब्रिजकोर्स गर्ने ठाउँ नभएका ग्रामीण बस्तीका बालबालिका पनि कम्प्युटर लगायतका सीप सिकेर खाली समयको सदुपयोग गर्छन्।
परीक्षाको रिजल्टपछि प्रथम श्रेणीदेखि माथिको अंक ल्याई पास भएकाहरु यतिबेला शहरका राम्रा कलेज चहार्दै छन्। कतिपयले कहाँ पढ्ने भनेर रोजिसके तर धादिङको कल्लेरी गाविस–८ आमडाँडाका दृष्टिविहीन हुँदाहुँदै पनि अब्बल ठहरिएका दाजुभाइ राम–लक्ष्मण रेग्मीलाई भने रिजल्ट आएको दुई हप्ता बितिसक्दा पनि अब उच्च शिक्षा पढ्न पाइन्छ कि पाइन्न भन्ने चिन्ताले सताइरहेको छ।

थाक्रे–३ महादेवबेसीस्थित जनजागृति उच्च माविबाट एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण उनीहरु सोही विद्यालयको स्रोत विद्यालयकै छात्रावासमा बसेर पढ्दै आएका थिए। छात्रावासमा कक्षा १० सम्मका बालबालिका मात्रै राख्ने नियमका कारण मर्कामा परेका उनीहरु उच्च शिक्षा हासिल गर्ने अवसरबाटै वञ्चित हुने भएका हुन्। प्रावि तहको पढाइ गाउँकै पञ्चकन्या प्राविमा पूरा गरेका उनीहरुले निमावि पढ्न दुई घन्टा टाढा हिँडेर आदमटारस्थित सत्यवति उच्च मावि जान्थे। आठ कक्षादेखि लो भिजन भएका र दृष्टिविहीन भएका बालबालिकालाई ब्रेललिपिसहितको शिक्षा दिँदै आएको जनजागृति स्रोत विद्यालयको छात्रावासमा बसेर पढेका उनीहरू छात्रावासमा कोटा नभएको जानकारी पाएपछि अन्योलमा छन्।

‘अहिलेसम्म त छात्रावासमा बस्यौं, अब त सरले पनि यहाँ बस्न मिल्दैन भन्नुभएको छ,’ रेग्मी दाजुभाइले भने, ‘त्यही भएर एसएलसी दिएर घरमा आएर बसेका हौँ। भूकम्पले घर भत्किएपछि जस्ता र पालले बनाएको छाप्रेघरमै भेटिएका रेग्मी दाजुभाइले क्रमशः ७५ दशमलव ८७ र ७६ दशमलव ३७ प्रतिशत अंक हासिल गरेका छन्। भविष्यमा शिक्षा पढेर धेरैलाई ज्ञानको मार्ग देखाउने सपना बोकेका जुम्ल्याहा दाजुभाइ सहयोग पाए कम्तिमा डिग्रीसम्म पढ्ने धोको रहेको बताउँछन्।

‘घर परिवारबाट सहयोगको आश गरौं भने बाबुआमा साठी कटेका छन्’, भाइ लक्ष्मण भन्छन्, ‘बाबु ५ वर्षअघि करेन्ट लागेर अपांग हुनुहुन्छ। नौ सन्तान जन्माएकी आमा रोगले थलिनुभएको छ।’

जनजागृतिमा परिलक्षित नामक संस्थाको संयोजनमा भव्य छात्रावास भवन खडा छ। विद्यालय र छात्रावासको आँगन एउटै छ। ‘त्यहीँ बसेर पढ्न पाए कक्षा १२ सम्मको लागि अर्को दुई वर्ष चिन्ता हुने थिएन,’ रेग्मी दाजुभाइ भन्छन्, ‘सरले हुन्न भनिसक्नु भयो अब कसलाई सुनाउने हाम्रो पीडा!’

छोराहरुले पढेर नाम कमाएकामा खुसी भएका रामलक्ष्मणका बाबुआमा कृष्णप्रसाद र लीलाकुमारीलाई पनि अब के गर्ने भन्ने चिन्ताले निन्द्रा पर्न छाडेको छ। ‘हामी कमाउन सक्दैनौं, यिनले अब कसरी पढून्?’ कृष्णप्रसादले भने। कृष्णप्रसादका नौ सन्तानमध्ये चार जना दृष्टिविहीन (आँखा नदेख्ने) छन् भने एक सन्तान ढाडमा कुम्लो निस्किएका अशक्त छन्। पाँच छोरी चार छोरा जन्माएका उनी आफ्ना सन्तानमा देखिएको जन्मजात अपांगताले जति पीडित छन् उत्तिकै आर्थिक विपन्नताले पनि। उनका जेठो छोरा तुंगनाथ रेग्मी ढाडमा कुम्लो भएकाले शारीरिक श्रम गर्न सक्दैनन्। काइँली छोरी निर्मला, माइलो छोरा राजु र जुम्ल्याहा राम लक्ष्मण आँखा देख्न सक्दैनन्। आमा लीलाकुमारी भन्छिन्, ‘पहिलो सन्तान तुङ्गनाथको पनि पछि आएको समस्या हो। त्यस यताका लगातार तीन छोरीमा कुनै समस्या देखिएन। जब निर्मला जन्मिन्, उनीपछि लगातार चार सन्तानले आँखा देखेनन्। सानोमा बाहिरबाट हेर्दा सग्लो देखिन्थ्यो, कुनै याद गरिएन। टुकुटुकु हिँड्ने भए पनि हिँड्दा भक्लक्क भक्लक्क लड्न थालेपछि गाउँमा धामी झाँक्री देखाइयो, नजिकका मेडिकलमा लगियो केही पत्ता लागेन।’