६ हजार भूकम्पपीडितले परिचयपत्र र राहत पाएनन्

420 पटक पढिएको

सम्पादक: Dhading News

चितवन । चितवनमा अझै छ हजारभन्दा बढी भूकम्पपीडित परिवारले सरकारी राहत पाउन सकेका छैनन् ।

भूकम्प गएको करिब चार महिना पुग्न लाग्दासमेत भूकम्पपीडितले परिचयपत्र समेत पाउन नसकेको पीडितले बताएका छन् ।

सरकारले भूकम्पपीडितमध्ये पूर्ण क्षति भएकाको हकमा १५ हजार रुपैयाँ र आंशिक क्षति भएकाको हकमा तीन हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो । जिल्लामा अहिलेसम्मको तथ्याङ्कअनुसार पूर्ण र आंशिक गरी १३ हजार ६२० घर क्षति भएको छ ।

तीमध्ये सात हजार ४५० परिवारले मात्रै परिचयपत्र पाएका छन् भने सात हजार १९८ परिवारले मात्रै राहत रकम प्राप्त गर्न सकेका छन् । अझै छ हजार १७० परिवारले परिचयपत्र र छ हजार ४२२ परिवारले राहत पाउन नसकेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्म राहतका लागि जिल्ला प्रशासन कार्यालयले चितवनले भूकम्प प्रभावित क्षेत्रमा रु सात करोड ५८ लाख पठाइसकेको छ । तर पनि पूर्णतर्फ रु चार करोड २० लाख तथा आंशिक क्षतितर्फ रु एक करोड ३१ ल्ााख गरी रु पाँच करोड ५१ लाख मात्रै राहत वितरण भएको तथ्याङ्क छ । प्रशासन कार्यालयले गाविसमा निकासा गरेकोमध्ये रु दुई करोड सात लाख अझै भूकम्पपीडितले पाउन सकेका छैनन् ।

चितवनमा भूकम्पका कारण तीन हजार ४९१ घर पूर्ण क्षति भएको छ भने १० हजार १२९ घर आंशिक क्षति भएको तथ्याङ्क छ । विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकृत बलराम लुइँटेलले कहीँ पुनः विवरण सङ्कलन गर्नु परेको र कुनै स्थानमा विवाद आएकाले राहत वितरण र परिचयपत्र वितरणमा ढिलाइ भएको जानकारी दिए ।

प्ाूर्ण क्षति भएका तीन हजार ४९१ मध्ये अहिलेसम्म दुई हजार ९०० लाई परिचयपत्र वितरण गरिएको छ ।