दुई कोरिया वार्तामा, उत्तरको चेतावनीपछि ४ हजार दक्षिण कोरियालीले सीमा छाडे –

476 पटक पढिएको

सम्पादक: Dhading News

korea10काठमाडौं, भदौ ५ । कोरियाली प्रायद्धीपमा बढ्दो तनाबबीच दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष अधिकारीहरु वार्तामा बसेका छन् ।

सीमाक्षेत्रमा अवस्थित पान्मान्जोम गाउँमा भएको वार्तामा दक्षिण कोरियाका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहाकार किम क्वाङ जिन र एकीकरण मन्त्री होङ चोङ प्यो सहभागी छन् ।

यस्तै, उत्तर कोरियाका तर्फबाट शीर्ष अधिकारीहरु ह्वाङ प्योङ सो र किम योङ गोन वार्तामा बसेको दक्षिण कोरियाले जनाएको छ ।

ह्वाङलाई उत्तर कोरियाली शासक किम जोङ उनपछिको दोस्रो नेताको रुपमासमेत हेरिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

दुई कोरियालाई विभाजन गर्ने गैरसैन्य क्षेत्रभित्र भएको वार्तामा सन्चारमाध्यमलाई प्रवेश दिइएको छैन । वार्ताले दुई मुलुकको कटुता कम गर्नुभन्दा पनि अहिले जारी तनाब कम गर्न वातावारण तयार पार्न सक्ने अनुमान गरिएको छ ।

यसअघि, दक्षिण कोरियाले सीमा क्षेत्रमा गरिरहेको प्रचारबाजी नरोकिए कडा सैन्य कारबाही गर्ने चेतावनी दिँदै उत्तर कोरियाले आफ्ना सैनिकलाई युद्धका लागि तयार रहन निर्देशन दिएको थियो । दक्षिण कोरियाले पनि कुनै पनि आक्रमणको कडा जवाफ दिने प्रतिक्रिया जनाएको थियो ।

उत्तर कोरियाको धम्कीपछि दक्षिण कोरियाले सीमा क्षेत्रबाट ४ हजार नागरिकलाई सुरक्षित स्थानमा सारेको छ । दुई कोरियाको सीमानजिक दक्षिण कोरिया र अमेरिकाका लडाकू विमानहरुले उडान भरेका छन् भने तनाबबीच दुई मुलुकका सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।

दक्षिण कोरियाका सैनिकहरु गैरसैन्य क्षेत्रमा राखिएको माइन विस्फोटमा परि घाइते भएका थिए । माइन विष्फोटमा उत्तर कोरियाको हात रहेको दक्षिण कोरियाले आरोप लगाएपनि उत्तर कोरियाले भने आरोप अस्वीकार गरेको छ ।

यसपछि दुबै तर्फबाट सीमा क्षेत्रमा गोली हानाहान भएको थियो । (एजेन्सी)