भूकम्पपीडित अपाङ्ग परिवारलाई प्रवासबाट सहयोग

517 पटक पढिएको

सम्पादक: Dhading News

budhdhi-bahadur-Rai-169x300धादिङ, ६ भदौ । २०६७ सालमा भएको सवारी दुर्घटनामा धादिङ कल्लेरी–४, केउरिनीटारका बुद्धिबहादुर राईको एउटा खुट्टा गुम्यो । वैशाखीको सहारामा उभिएका उनको बुढेसकालको सहारा थिए एउटा छोरा, एकेन्द्र । खुट्टा गुमाएको दुई वर्षपछि छोरालाई पनि ‘दैव’ले उठाएर लग्यो, त्यो पनि सवारी दुर्घटनामै ।

उनको जीवनमा बाँकी रहे बयोवृद्धा श्रीमती र एक बौद्धिक अपाङ्गता भएकी छोरी । अनि साथमा थियो घाम पानीमा ओत दिने एउटा छाप्रो । तर वैशाखमा गएको विनाशकारी गोर्खा भूकम्पले त्यही घर पनि लडाइदियो र उनी सहाराविहिनबाट घरबारविहिन भए ।

८० वर्षीय राई भन्छन्, ‘दैव यति निर्मोही होला भनेर कहिल्यै सोचेको थिइन, एकपछि अर्को सबै खोसेर लग्यो ।’ राईलाई भूकम्पपछि हातमुख जोड्ने समस्यासँगै थपियो घाम पानी छल्ने समस्या । तर स्थानीय युवा रविन्द्र भुजेलले छिमेकी दुःख टुलुटुलु हेरेर बस्न सकेनन् । उनले आफ्नै अगुवाईमा प्रवासमा रहेका नेपालीहरुबाट उनलाई सहयोग जुटाउने काम अगाडि बढाए ।

राईको सहयोगमा नेदरल्याण्डमा रहेका धादिङ कल्लेरी–८ का हरि ढुंगाना, क्यानडामा रहेका धादिङ पीडा–१ आदमघाटका माधव नेपाल र अस्ट्रेलियामा रहेका आदमघाटकै दिपक ओझाले १०/१० हजार रुपैयाँ सहयोग गरेका छन् ।
सहयोग जुटाउने अभियानमा जुटिरहेका स्थानीय भुजेलले प्राप्त सहयोगहरु पीडित राईलाई हस्तान्तरण गरिसकेको र थप सहयोग जुटाउन लागेको बताए ।