स्वास्थचौकीमा कर्मचारी नभेटिँदा ढुंगाले लागेकी बालिकाको ज्यान गयो –

394 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, ६ भदौ । विद्यालय जाने क्रममा माथिबाट ढुङगा खसेर लाग्दा आइतबार धादिङको दुर्गम गाविस लापामा एक बालिकाको मृत्यु भएको छ ।

बिहान ९ बजे विद्यालय जाने क्रममा लापा –२ तिरगाउँकी १० बर्षिय सनिला तामाङको भुकम्पपछिको पहिरोबाट ढुङगा खसेर लागेर ज्यान गएको हो । ढुंगाले लागेर घाइते भएकी उनको समयमै उपचार नपाएर ज्यान गएको स्थानीयले बताएका छन् ।

टाउकोमा गम्भिर चोट लागेकी बालिकालाई उपचारको लागि धादिङ ल्याउँदै गर्दा झार्लाङमा नै मृत्यु भएको स्थानीय बल बहादुर गुरुङले जानकारी दिए । गम्भिर घाईते बनेकी बालिकालाई उपचारको लागि लापा स्वास्थ्य चौकी र स्वास्थ्य विन्दु लापामा लैजाँदा कर्मचारी नै नभेटिएपछि उपचारको लागि धादिङ ल्याईएको थियो । समयमै प्राथमिक उपचार पाएको भए बालिकाको ज्यान जोगिने मृतका बुबा सुनार तामाङले गुनासो गरे ।

टाउको बाट बगेको रगत रोक्न नसक्दा बालिकाको अकालमै मृत्यु भएको अर्का स्थानीय गंगामाया तामाङले बताइन् । घरबाट १ घण्टाको बाटोमा रहेको विद्यालयमा विद्यार्थीहरु जोखिम मोलेरै भएपनि विद्यालय गइरहेका छन् ।

भूकम्पपछि अहिलेसम्म पनि लापाका विभिन्न स्थानमा पहिरो खसिरहेको स्थानीयले जानकारी दिएका छन् ।