कैलाली, सर्लाही र रौतहटमा सेना परिचालन
643 पटक पढिएको
काठमाडौं : सरकारले सुरक्षा स्थिति विग्रदै गएको निश्कर्ष निकाल्दै कैलाली, सर्लाही र रौतहट जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको छ। कैलालीमा भएको हिंसात्मक घटनापछि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको सोमबार अपरान्ह बसेको बैठकले सेना परिचालनको निर्णय गरेको हो ।
सेना परिचालनको निर्णय भएको जानकारी सोमबारको संसद्को बैठकमा गृहमन्त्री तथा उपप्रधानमन्त्री वामदेव गौतमले दिएका छन् । गौतमका अनुसार कैलाली, सर्लाही, रौतहटलाई दंगग्रस्त क्षेत्र घोषणा गरेर सेना परिचालन गर्न लागिएको हो । त्यहाँको सुरक्षा कमान्ड समाल्न सेनाको टोली सम्बन्धित जिल्लामा प्रवेश गरिसकेको जानकारी गौतमले दिए । प्रमुख जिल्ला अधिकारीको आदेशमा सम्बन्धित जिल्लामा सेना परिचालन हुने छ।कैलालीको घट्नासँगै रौतहट र सर्लाहीमा पनि अवस्था तनावपूर्ण छ। रौतहटको सदरमुकाम गौर र सर्लाहीको सदरमुकाम मलंगवालाई घेराउ गर्न भन्दै ठूलो संख्यामा प्रदर्शनकारीहरु जम्मा भइरहेका छन्। सुरक्षास्थितिलाई कडा बनाइएको छ।
आवश्यकता हेरेर अन्य जिल्लामा पनि सेना परिचालन हुनसक्ने जानकारी गौतमले दिएका छन् । उनले अवस्था सामान्य नरहेकोले सुरक्षा निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको बताए। कैलीलीमा प्रदर्शनकारीहरुले बञ्चरो, भाला र घरेलु हतियार प्रयोग गरेर प्रहरीको क्रुर हत्या गरेको बताए।
गौतमले सद्भाव र शान्तिका लागि संसद्ले अपिल गर्नुपर्ने बताएका छन्।
-अन्नपूर्ण पोष्ट डट कमबाट