‘संविधान नबने राजतन्त्र फर्कन्छ’

428 पटक पढिएको

सम्पादक: Dhading News

Puspakamal_Dahal_963590047_281843792काठमाडौं: एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूसँग भेट्न आएका पार्टीकै मधेसी तथा थारू सभासद्‌-नेताहरूसँग राजतन्त्र फर्कन नदिन नयाँ संविधान जारी गर्नुको विकल्प नरहेको बताएका छन्। मधेसी र थारू सभासद्हरू भने यसलाई प्रतिगमनको खतरा देखाएर यथास्थितिमा संविधान जारी गर्ने दाहालको चालबाजी भन्दै आक्रोशित भएका छन्।

एमाओवादीका मधेसी र थारू सभासद्सँग बुधबार दाहालले भने, ‘राजतन्त्र रोक्न संविधान जारी गर्नुभन्दा उपयुक्त विकल्प केही नभएको अवस्थामा मधेसी र थारू आन्दोलन स्थगित हुनैपर्छ।’ दाहालले मधेसी र थारूले जारी हुन लागेको संविधानबाट पर्याप्त अधिकार नपाएको स्वीकार गरेका थिए।

उनले भने, ‘पहिचानका पाँच र सामर्थ्‍यका चार आधारअनुसार मस्यौदा नआएकै हो, सीमांकन नमिलेकै हो, जनयुद्धको मर्म र भावनाविपरीत मस्यौदा आएकै हो तर पनि राजतन्त्रबाट बढ्दो खतरा रोक्न संविधान जारी गर्नुको विकल्प छैन।’

पार्टीका उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा महासचिव कृष्णबहादुर महरासमेत रहेको बैठकमा दाहाललाई उद्धृत गर्दै एमाओवादीका केन्द्रीय सदस्य एवं पूर्वसभासद् रामकुमार शर्माले अन्नपूर्णसँग भने, ‘यो देशलाई प्रतिगमनको खतराबाट रोक्न पनि संविधान जारी हुनैपर्छ।’

शर्माका अनुसार दाहालले मुलुकमा अहिले राजतन्त्रको बहाली, सैनिकीकरण र भारतीय हस्तक्षेपको खतरा रहेको बताएका थिए।मधेसी र थारू नेताहरूले एकैपटक आक्रोशित हुँदै रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेको अवस्थामा एमाओवादी शीर्ष नेतृत्व पुगेको भन्दै दुःख व्यक्त गरेका थिए।

उनीहरूले बुधबारमात्रै महोत्तरी, मोरङ, जनकपुलगायतका क्षेत्रमा भएको घटना हेर्न एमाओवादी नेतृत्वसँग आग्रह गरेका थिए। संसद्मा रहेका तराईमधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत मधेसी दलले ‘मधेसमा नागरिकता त्यागौं, स्वतन्त्र मधेस राज्यका लागि संघर्ष गरौं’ भन्नेसम्मका नारा लगाउन थालेको जानकारी दाहाललाई मधेसी-थारू नेताले दिएका थिए। मधेसमा विद्रोह हुनेसम्मको चेतावनी नेताहरूले दाहाललाई दिए।

देश विभाजनतर्फ जानबाट रोक्न मधेसी नेताहरूले दाहाललाई आग्रह गरेका थिए। ‘समयमै वार्ताका वातावरण बनाऔं। सहिदको सम्मान गरौं, सेना ब्यारेकमा पठाऔं, मधेसी, थारूसँगको सम्झौता कार्यान्वयन गरौं, जारी संसद् केही दिनका लागि स्थगित गरौं,’ उनीहरूले दाहाललाई भने।

‘राजतन्त्र रोक्‍न संविधान जारी गर्नुभन्‍दा उपयुक्त विकल्‍प केही नभएको अवस्थामा मधेसी र थारु आन्‍दोलन स्थगित हुनैपर्छ।’ पुष्पकमल दाहाल,अध्‍यक्ष, एमाओवादी

प्रमुख तीन दलको हठ र सेना प्रयोग गरेर संविधान जारी भए पनि कार्यान्वयन पूर्ण रूपमा असफल हुने चेतावनी मधेसी-थारू नेताहरूले दिएका थिए। दाहालले ‘संविधान निर्माण प्रक्रिया पनि नछोडौं र मधेसतर्फ पनि सौचौं’ भन्दा मधेसी नेताहरूले ‘मधेसी आन्दोलनमा के गर्ने र के गर्नुपर्छ भन्नेबारे बिहीबार मधेसीहरूको फाइनल बैठक हुँदैछ’ भन्ने जानकारी दाहाललाई गराए।

मधेसी-थारू नेताहरूले राजतन्त्र, सेना र भारतको भूत देखाउने दिन गएको भन्दै दाहालसँग जिकिर गरे, ‘अध्यक्षज्यू यो सही र सत्य कुरा होइन।’ मुलुकमा उत्पन्‍न समस्याको हल गर्न मधेसी थारूहरू तयार रहेको अवस्थामा नेतृत्वले एकोहोरो राजतन्त्र, सेना र भारतको भूत देखाउन नहुने धारणा उनीहरूले राखेका थिए। मधेसी र थारू आन्दोलनमा घुसपैठ रहेकोबारे नेतृत्वलाई जानकारी दिँदै उनीहरूले यसका लागि प्रमुख दलले सोच्नुपर्ने माग गरेका थिए।

संसद्भित्रका मधेसी दल, प्रमुख तीन दलभित्रका मधेसी, थारू, जनजातिलगायत संविधानसभाबाहिरका अन्य दलहरू एक भएको अवस्थामा सबैका आआफ्ना चाहनाअनुसारको आन्दोलन हुन सक्ने विषयमा समेत बैठकमा परामर्श भएको थियो। तीन दलले एकमतका साथ निकास दिन चाहेमा समस्याले निकास पाउने धारणा मधेसी-थारू नेताले राखेका थिए।

मधेसी नेताहरूले संविधान निर्माण प्रक्रिया केही दिनका लागि स्थगित गरेर तराई मधेसमा भइरहेको आन्दोलनका मुद्दा सम्बोधन गर्न, सेना परिचालन फिर्ता गर्न, प्रहरी दमन नियन्त्रण गर्न र वार्ताबाट समस्याको समाधान गर्न नेताहरूको ध्यानाकर्षण गराएको नेता रामरिझन यादवले बताए।