एमाले धादिङ–पोखरा सम्पर्क मञ्चमा पाठक

576 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

uml pokharaपोखरा–नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा बेनी पाठक सर्वसम्मत चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न चौथो अधिवेशनले पाठकको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिका तीन उपाध्यक्षमा, अर्जुन खतिवडा, प्रेम थापा र शेरबहादुर अधिकारी, सचिवमा गोकर्ण अधिकारी, सहसचिवमा योगबहादुर सापकोटा र कोषाध्यक्षमा समिर अर्याल चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा गोपाल नेपाली, सरस्वती श्रेष्ठ, सफलता आचार्य, दीपक सारु मगर, बेलबहादुर तामाङ, मनोज बिसुन्के, अम्बर थापा, नवराज इटनी, टीकाराम अधिकारी, कृष्ण थापा, युवराज इटनी, सरोज कुँवर र रञ्जन अधिकारी रहेका छन् । केशव थापा संयोजक तथा कृष्णबहादुर लम्साल र रामबहादुर अर्याल सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति घोषणा गरेको हो । बाँकी सदस्यहरुको चयनका साथै सल्लाहकार समिति तथा प्रचारप्रसार उपसमिति पहिलो बैठकले गठन गर्ने नवनिर्वाचित अध्यक्ष पाठकले बताए ।

उनले सबैको चाहना अनुसार नै आफु अध्यक्ष भएकोले सबैप्रति आभार व्यक्त गर्दै सक्रिय तथा लामो योगदान पु¥याएकालाई सल्लाहकारमा राखेर संगठन विस्तार अभियानलाई अघि बढाउने बताए । नेकपा एमालेमा आस्था राख्ने सबै धादिङबासीलाई समेटेर सामाजिक कार्यमा पनि अग्रसर बन्ने उनको भनाई छ ।

यसअघि, अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य तथा कास्की ईञ्चार्ज मानबहादुर जिसीले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए । एमाले कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका जिसीले संविधान निर्माण प्रक्रियाले सार्थकता लिँदै गर्दा नेकपा एमालेका नेता कार्यकर्ताहरु धैर्यवान् तथा संयमित भएर आफ्नो भूमिका प्रभावकारी बनाउन लागिरहेको जनाए । मुलुकमा राजनैतिक र संवैधानिक संकट उत्पन्न भएका बेला निकास दिने र मुलुकलाई दिशानिर्देश गर्ने एकमात्र पार्टी एमाले भएको उनको भनाई छ । जिसीले धादिङका एमाले कार्यकर्ताको कास्कीमा पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आफूले मञ्चलाई गति दिन सक्दो सहयोग गर्ने बचन दिए ।

मञ्चका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा कास्की क्षेत्र नं. २ विशेष ईलाका नगर कमिटि अध्यक्ष वीर बहादुर थापा, पोखरा वडा नं. १७ अध्यक्ष सुवास ढुंगाना, वडा नं. ९ अध्यक्ष प्रकाश शर्मा तथा यातायात क्षेत्रबाट केशव खतिवडाले बोलेका थिए । सो अवसरमा मञ्च अन्तर्गत ३५ सदस्यी जिल्ला परिषद् समेत गठन भयो । साधारणसभा सचिव बेनी पाठकले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रेम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट तथा दर खुवाउने कार्यक्रम पनि सम्पन्न भयो । यसैबीच, पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका एकीकृत माओवादी तथा नेपाली काँग्रेसमा क्रियाशील कार्यकर्ताहरुलाई अतिथिहरुले खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।