भुकम्प पछिको सुचना अध्यावधिक गर्न जिशिअको निर्देशन
601 पटक पढिएको

धादिङ -धादिङका जिल्ला शिक्षा अधिकारी गणेश ढकालले महाभुकम्पपछि जिल्लाभरका विद्यालय र विद्यार्थीको बारेमा सुचना अध्यावधिक गरी कार्यालयमा उपलब्ध गराउन श्रोतव्यक्तिहरुलाई निर्देशन दिनुभएको छ ।
भुकम्पले भवन भत्काएपछि विकट वस्तीहरुका विद्यालयमा पाठ्यपुस्तक, शैक्षिक सामाग्री, विद्यालय पोषाक नभएका कारण विद्यालय संचालन गर्न कठिन भएको गुनासो आइरहँदा जिल्ला शिक्षा अधिकारी ढकालले यस्तो निर्देशन दिनुभएको हो । अस्थाई सिकाइ केन्द्र समेत नबनेका कारण विद्यालय संचालनमा आउन सकेको छैन भने कुन विद्यालय चल्न सकेको छैन ?, पाठ्यपुस्तक पाएनन् भने कुन विद्यालयले पाएका छैनन् ? त्यस्ता विद्यालय र विद्यार्थीहरुको बारेमा तत्काल जानकारी गराउन श्रोतव्यक्तिहरुसंग आग्रह गर्नुभयो ।
धादिङबेसीमा आयोजित जिल्ला स्तरीय शैक्षिक सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै जिल्ला शिक्षा अधिकारी ढकालले उच्च पहाडी क्षेत्रहरुबाट विस्थापित भएर सदरमुकाम आसपास शिविरमा बस्दै आएका बालबालिकाहरु कुनै कारणले विद्यालय बाहिर छन् भने उनीहरुको बारेमा पनि जानकारी लिन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले विभिन्न गैर सरकारी सस्थाहरुले निर्माण गरिदिनएको अस्थाई सिकाइ केन्द्रका कारण जिल्लाका कुनै पनि विद्यालयका विद्यार्थी छाना बाहिर कोही नभएको दावी गर्नुभयो । अहिले भएका भौतिक क्षतिलाई सिकाइ मानेर अब बन्ने संरचना जहाँबाट हेर्दापनि विद्यालय हो भनेर चिनिने खालको बनाउन संम्बन्धित संघसस्थाहरुलाई सुझाव दिनुभयो ।
अहिलेसम्म बनेका अस्थाई सिकाइ केन्द्रले विद्यार्थी खुल्ला आकाशमा बस्नु नपरेको जानकारी गराउँदै कार्यक्रममा सहभागीहरुलेअब बन्ने संरचना स्थायी ढंगबाट निर्माण गर्न सुझाव दिएका छन् । प्रयास नेपाल धादिङले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जिल्लाका श्रोतव्यक्ति र शिक्षा सरोकारवालाहरुको सहभागिता रहेको प्रयास नेपालद्धारा प्रेषित समाचार सामाग्रीमा वताईएको छ ।