थरुहट/थारुवानका संयोजक धनिरामसहित ५८ बिरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता –

420 पटक पढिएको

सम्पादक: Dhading News

धनगढी–टीकापुरमा भदौ ७ गते वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नवालक हत्या गरेकोे अभियोगमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरीसहित ५८ जना बिरुद्ध मंगलबार जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।
धनिरामसहित ५४ जनाको बिरुद्ध हत्यामा प्रत्यक्ष सलग्न भएको भन्दै सर्वोच्वसहित जन्म कैदको सजाय माग गरि मुद्दादर्ता गरिएको छ भने फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू र थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक तथा थारु कल्याणकारीसभा कैलालीका अध्यक्ष लाहुराम चौधरीलाई हत्याको योजना बनाएको अभियोगमा जन्म कैदसहितको सजाय माग गरी सरकारकातर्फबाट सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।

कर्तव्य ज्यान मुद्दा दर्ता गराएका मध्य लक्ष्मण चौधरी, लाहुराम चौधरीलगायत २२ जनालाई मंगलबार अदालतमा उपस्थित गराइएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार जगदिशप्रसाद भट्टले बताए। बाँकी ३६ जना भने फरार छन्।
प्रहरीले अदालतमा उपस्थित नगराएको (फरार)मा संयोजक धनिराम चौधरी, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य तथा टीकापुर आन्दोलनको नेतृत्व गरेका रेशम चौधरी लगायत छन्। दुवै जना बिरुद्ध प्रत्यक्ष हत्याको संलग्न भएको अभियोगमा मुद्दा दर्ता गरिएको छ।

५८ जना बिरुद्ध कर्तव्य ज्यान मुद्दाका साथै डाँका चोरी र ज्यानमार्ने उद्योग गरी ३ मुद्दा दर्ता गरिएको श्रेस्तेदार भट्टले बताए । एसएलआर र पेस्तोल लगेकोमा डाका, चोरी मुद्दा दर्ता गरिएको छ भने घाइतेहरुकोतर्फबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। धनिराम चौधरी ,रेशम चौधरी सहित ५८ जना बिरुद्ध ज्यान मार्ने महलको १३, १ अनुसार सर्वस्वसहित जन्म कैद माग गरी मुद्दा दर्ता गरिएको छ भने लक्ष्मण थारू र लाहुराम चौधरीमाथि हत्याको योजना बनाएकोमा १३,४ महल अनुसार जन्म कैदको मागसहित मद्दा दर्ता गरिएको श्रेस्तेदार भट्टले बताए।

जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दामा जोहरी दर्ता गरी अदालतवाट म्याद थपेर अनुसन्धान गरिरहेको थियो । अदालतबाट म्याद थपेको २५ दिन म्याद पुगेपछि अदालतमा दर्ता गराउनुपर्ने प्रावधान बमोजिम मंगलबार अदालतमा दर्ता गराएको हो।