विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई ११ वर्ष जेल

357 पटक पढिएको

सम्पादक: Dhading News

पर्वत, असोज ११ – आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेकोमा दोषी ठहर गर्दै पर्वत तिलहार गाविसका एक शिक्षकलाई जिल्ला अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ ।

पर्वतको तिलहार –९ थामार्जुङमा रहेको ज्ञानेन्द्र प्राथमिक विद्यालयका प्रधानाध्यापक बमबहादुर खत्रीले आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेका थिए । पर्वत जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले सोमबार खत्रीलाई ११ वर्षको जेल सजाय तथा पीडित बालिकाहरुलाई ५० हजार रुपैयाँका दरमा क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

प्रधानाध्यापक खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने ६, ७ र ९ बर्षका तीन जना बालिकालाई जर्बजस्तीकरणी तथा अप्राकृतिक यौन सम्बन्ध राखेको भन्दै प्रहरीले गएको असार १८ गते पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । खत्री सोही अभियोगमा पुर्पक्षका लागि थुनामा थिए ।

खत्रीले विद्यालयमा पढाउने समयमा विद्यार्थीलाई एकान्तमा बोलाएर अप्राकृतिक रुपमा मैथुन गराउन लगाउनेलगायतका दुर्व्यवहार गर्दै आएको भन्दै बालिकाका अभिभावकले प्रहरीमा उजुरी गरेपछि अनुसन्धान सुरु भएको थियो ।

खत्री र उनका आफन्तले भने राजनीतिक र पारिवारिक रिसिबिका कारण उनलाई झुठा मुद्दामा फसाइएको दाबी गर्दै आएका थिए ।