दुई वर्षमा एक नम्बर पार्टी बनाउँछौँ : प्रचण्ड

338 पटक पढिएको

सम्पादक: Dhading News

Prachand_723718615टोपबहादुरले भने-बाबुरामको पछि लाग्दैनौँ
काठमाडौँ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने बताएका छन् ।

एमाओवादी केन्द्रीय समितिले शनिबार गरेको पार्टी कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले पार्टीभित्र देखिएका समस्या र टुटफुटबाट बाहिर निस्केर नेपाली जनताको चाहना र भावना बमोजिम अगाडि बढी एक नम्बरको पार्टी बनाउने बताएका हुन् ।

विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई एकताबद्ध बनाउन आफूहरुले हदैसम्मको प्रयत्न गर्ने बताउँदै केही दिन पहिले मात्रै पार्टी परित्याग गरेका डा बाबुराम भट्टराईलाई समेत जिम्मेवारीमा फर्कन आग्रह गरे ।

‘पार्टी परित्याग गर्नेबित्तिकै सत्तोसराप गर्नुपर्छ भन्ने छैन, उहाँलाई कोही कसैले पनि गाली नगरौँ’, उनले भने, ‘उहाँले उठाएका विषयलाई पार्टीले आत्मसात् गर्छ र पार्टीलाई रुपान्तरित गरेर अगाडि बढाइन्छ ।’

पार्टी केन्द्रीय समितिले डा भट्टराईलाई पुनः पार्टीमा फर्कन आग्रह गरिसकेको सन्दर्भमा उत्तेजनामा आएर गालीगलौज नगर्नसमेत उनले आग्रह गरे ।

उनले नयाँ संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै सत्ताको खेलमा लागेर बहुमतीय सरकार बनाउन नहुने धारणा राखे ।

प्रमुख तीन दलको बीचमा संविधान कार्यान्वयन गर्ने चरणसम्म मिलेर जाने सहमति भएकाले त्यसलाई पालना गर्न सबैलाई आग्रह गरे ।

विगतमा १६ बुँदे सहमति हुँदा तीन दलको बीचमा सहमतिका आधारमा अगाडि बढ्नेमा सबै एकमत भएकाले त्यसलाई अगाडि बढाउन सबैको साथ र सहयोग जरुरी रहेको अध्यक्ष दाहालको कथन थियो ।

एमाओवादीले मुलुकलाई सङ्कट परेको बेला महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै उहाँले संविधान निर्माण गर्न पनि त्यो खालको निर्णय गरेको बताए ।

संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना पूरा भएकाले संविधानका सकारात्मक विषयलाई जनतामाझ लैजान पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

नेपाल र भारतबीच विगत लामो समयदेखि रहेको सुमधुर सम्बन्ध पछिल्लो समयमा आएर भारतले गलत निर्णय गरेको अध्यक्ष दाहालले बताए । ‘नेपालका लागि निर्णय गर्न नेपाली जनता र राजनीतिक दल स्वतन्त्र छन्’, उनले भने, ‘त्यसलाई कोही कसैले पनि आपत्ति गर्नु आवश्यक छैन ।’

राष्ट्रियताको पक्षमा प्रतिबद्ध भएर उभिन कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले नेपालको हित र चाहना विपरीत गएर कोही कसैले पनि गलत गतिविधि सञ्चालन गर्न नसक्ने धारणा राखे ।

बाबुरामको पछि नलाग्ने टोपबहादुरको भनाइ
एमाओवादीका सचिव एवम् संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने समयमा डा भट्टराईले पार्टी परित्याग गरेर गलत गरेको बताए ।

उनले विभिन्न टुक्रामा विभक्त भएको माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि लैजान पहल र प्रयत्न गर्नुपर्नेमा पार्टी छोड्ने कुरा कुनै पनि हालतमा जायज मान्न नसकिने धारणा राखे ।

‘डा भट्टराईले गलत काम गर्नुभयो, उहाँको पछि लाग्न सकिँदैन, पार्टीमा नै रहेर सङ्घर्ष गरिन्छ, परित्याग गरिँदैन’, रायमाझीले भने, ‘एकताबद्ध भएर जनताको बीचमा जान म सबैलाई आग्रह गर्दछु ।’

प्रशिक्षणमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । रासस