सार्वजनिक यातायात लगभग ठप्प

952 पटक पढिएको

सम्पादक: Dhading News

yatayaभारतको नाकाबन्दीका कारण इन्धन आयात रोकिँदा दैनिक जनजीवन कष्टकर बन्न थालेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मंगलबारबाट आयल निगमले सार्वजनिक सवारीसाधनलाई सीमित परिमाणमा इन्धन उपलब्ध गराउने निर्णय गरेपछि सार्वजनिक यातायात लगभग ठप्प हुने भएको छ । निगमले सार्वजनिक यातायातलाई प्राथमिकता तोकेर सोमबारसम्म इन्धन वितरण गरिरहँदासमेत सबै सवारीसाधन चल्न सकेनन् ।

सवारीसाधनका कमीले राजधानीमै छतमा यात्रु बोकेर बस गुडिरहेका छन् । मंगलबारबाट सीमित परिमाणमा इन्धन दिन सुरु भएपछि झन् कम सवारी चल्ने र सर्वसाधारणले थप सास्ती पाउने भएका छन् । सरकारको तथ्यांकअनुसार कुल सवारीसाधनमा १० प्रतिशत मात्रै सार्वजनिक यातायातको हिस्सा छ ।

यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारीका अनुसार देशभर २० लाख सवारीसाधन सञ्चालनमा रहेको र त्यसमध्ये दुईदेखि दुई लाख ५० हजारको संख्यामा मात्रै सार्वजनिक यातायात छन् । ‘यसमा लामो तथा छोटो दूरीका बस, माइक्रो, टेम्पोलगायत सबै सार्वजनिक सवारी पर्छन्,’ उनले भने ।

आयल निगमले मंगलबार सूचना जारी गर्दै सार्वजनिक सवारीसाधन तथा पर्यटकको सेवामा सञ्चालित साधनलाई जोर–बिजोर नम्बरका आधारमा जोर–बिजोर गतेअनुसार माइक्रोबसलाई १५ लिटर, मिनिबसलाई २० लिटर र ठूला बसलाई ३० लिटर इन्धन वितरण गर्ने जनाएको छ । यो सूचनाअनुसार प्रत्येक दुई दिनमा मात्रै सार्वजनिक सवारी र पर्यटक बसले इन्धन पाउनेछन् ।