आज निजी सवारी साधनलाई इन्धन दिइँदै

540 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ २५ असोज । नेपाल आयल निगमले उपत्यकामा आज एक दिनका लागि सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल–डिजेल वितरण गर्ने तयारी गरेको छ ।

nocउपत्यकामा रहेका करिब १२५ पम्पले मङ्गलबार दिउँसो १२ बजेबाट निजी सवारीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको हो ।

दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी अर्को निर्णय नहुन्जेलसम्म निजी सवारी साधनलाई मङ्गलबार मात्रै इन्धन उपलब्ध गराइने व्यवस्था मिलाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति हेर्ने उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।

केही दिनयता भारतबाट पेट्रोलियम पदार्थको आपूर्तिका सम्बन्धमा उहाँले नेपालको भन्सार नाकासम्म पेट्रोलियम पदार्थ सहजरूपमा नआएसम्म आपूर्ति सामान्य हुँदै गएको भन्न नमिल्ने बताउनुभयो । भारतले अघोषित नाकाबन्दी लगाएर आयात रोकेपछि दुई साता अगाडिदेखि आयल निगमले निजी सवारीलाई इन्धन वितरण गर्न रोकेको थियो ।

उहाँले उपभोक्ताले सवारीसाधनको दर्ता किताब (बिलबुक) साथमै लिएर आई इन्धन भर्नुपर्ने अवगतसमेत गराउनुभयो । उपत्यकाको सामान्य अवस्थामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजल खपत हुँदै आएको छ ।

निगमले अत्यावश्यक भएका क्षेत्रमा मात्रै पेट्रोलियम पदार्थको उपलब्ध गराउने र सार्वजनिक सवारीसाधन तथा पर्यटन सेवामा सञ्चालित सवारीसाधनलाई, जोरबिजोर नम्बरका आधारमा माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ ।

निगमले अत्यावश्यक वस्तु ढुवानीमा संलग्न पिकअप, डेलिभरी भ्यानलगायतलाई जोरबिजोर नम्बरका आधारमा १० लिटरका दरले इन्धन उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अतिआवश्यक सेवा जस्तैः दमकल, एम्बुलेन्सलाई १० लिटरका दरले पेट्रोलियम पदार्थ उपलब्ध गराइएको छ ।

ट्याक्सीलाई प्रतिसाता १० लिटरका दरले आइतबार र सोमबार मात्र जोरबिजोर नम्बरका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ ।

पेट्रोलियम पदार्थको अभावमा नागरिकको दैनिक जीवन प्रभावित भएको छ । उद्योगधन्दा, अस्पताल, विद्यालय प्रभावित भएका छन् । सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए पनि हालसम्म सार्थक निर्णय भने हुन सकेको छैन । निगमले सामान्यरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चार हजारदेखि चार हजार ५०० किलोलिटर आयात हुनुपर्छ ।