सभामुख र उपसभामुख निर्वाचन आज

390 पटक पढिएको

सम्पादक: Dhading News

CA_191398396_111949954काठमाडौं : सभामुख र उपसभामुखका लागि शुक्रबार निर्वाचन हुने भएको छ । दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बहुमतीय प्रक्रियाबाट निर्वाचन हुन लागेको हो ।

शुक्रबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ता गरी दिउँसो ३ बजे सभामुखको निर्वाचन हुने कार्यक्रम संसद् सचिवालयले प्रकाशित गरेको छ । उपसभामुखको निर्वाचन भने ५ बजे तोकिएको छ ।

सभामुख सुवास नेम्बाङ र उपसभामुख ओनसरी घर्तीमगरले बुधबार पदबाट राजीनामा दिएपछि यी दुई पद रिक्त छन् । संसद् बसेको २० दिनभित्र सभामुख र उपसभामुखको नयाँ निर्वाचन गर्ने व्यवस्था संविधानमा छ ।

सत्तासीन दलका तर्फबाट एमाओवादी उम्मेदवारले सभामुखमा उम्मेदवारी दिने भएका छन् । एमाओवादीले पूर्वउपसभामुख घर्तीमगरलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको छ । ‘हाम्रो पार्टीका तर्फबाट पूर्वउपसभामुख घर्तीमगरलाई उम्मेदवार बनाउने निर्णय भएको छ’, एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने ।

सत्तासीन दलले उपसभामुख राप्रपा नेपाललाई दिने सहमति गरे पनि राप्रपा नेपालले उम्मेदवार तोकेको छैन । राप्रपा नेपालले कुन्ती शाहीलाई उपसभामुख बनाउने आन्तरिक तयारी गरिरहेकै बेला एमाओवादीले सभामुखमा महिला अघि सारेपछि पूर्ववत् तयारीमा पुनर्विचार गर्न लागेको हो । ‘शुक्रबार बिहान बैठक गरेर उपसभामुख उम्मेदवार टुंगो लगाउँछौं’, राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले भने ।

प्रमुख विपक्षी कांग्रेसले पनि सभामुख र उपसभामुखमा उम्मेदवारी दिने बताएको छ। कांग्रेसले औपचारिक निर्णय नगरे पनि निवर्तमान कानुनमन्त्री नरहरि आचार्यलाई उम्मेदवार बनाउनसक्ने स्रोतले बतायो।
copy annapurnapost.com