भगवान् पुकार्दै गाडी चलाउँदै
422 पटक पढिएको
२ कात्तिक, लहान । भदौ १५ गते बिहान ५ः३० बजे । ना४ख ६६९० नम्बरको मालबाहक ट्रक प्रहरी एस्कर्टिङमा पश्चिम आउँदै थियो । सप्तरीको भारदह कटेर पोर्ताहा लाग्नेबित्तिकै ढुंगा बर्सियो । पर्शुराम प्रजाको टाउको लाग्यो । उनले ट्रकमाथिको नियन्त्रण गुमाए । ट्रक दुई सय मिटर दक्षिण खेतमा जोतियो ।
‘कोसी ब्यारेज पार गरेपछि भारदह गाउँ कति बेला पार हुन्छ भनेर डराइरहेका बेला अचानक ढुंगाको वर्षा सुरु भयो,’ हेटौंडा–७ घर भएका चालक प्रजाले सुनाए, ‘ढुंगाले सिसा फुटाएर मेरो टाउकोमा लाग्यो । धन्य, बाँचेछु ।’
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सो ट्रकमाथि ढुंगा प्रहार गरेका थिए । ‘अहिले पनि भारदहदेखि सिरहाको मिर्चैयासम्म भगवान् पुकार्दै गाडी चलाउनुपर्ने अवस्था छ,’ उनले भने ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आमहडतालका कारण अलपत्र पर्ने गाडीहरूलाई आउजाउनिम्ति प्रहरीले एस्कर्टिङ गरिदिन्छ । तर, एस्कर्टिङकै बेला पनि आन्दोलनकारीले ढुंगामुढा गर्ने भएकाले पूर्व–पश्चिम राजमार्गमा प्रजाझैं चालकहरू जोखिममा गाडी चलाउन बाध्य रहेको नागरिकमा खबर छ ।
पूर्वपश्चिम राजमार्गको सुनसरी झुम्कादेखि महोत्तरीको बर्दीवाससम्मको खण्डलाई यस क्षेत्रका प्रहरी अधिकारीले संवेदनशीलको सूचीमा राखेका छन् । यस खण्डमा आउजाउ गर्ने सवारी साधन निर्धक्क गन्तव्यमा पुग्न पाउँदैनन् ।
आन्दोलनकारीको आक्रमणबाट सवारी साधन र यात्रुलाई सकुशल गन्तव्य पुर्याउन सुरक्षाकर्मीले एस्कर्टिङ गरे पनि गाडीका सिसा जोगिँदैन । लुकेर बसेका आन्दोलनकारीले सुरक्षा एस्कर्टिङका बीचमा रहेका यात्रुवाहक बसलाई लक्षित गरी ढुंगा बर्साउँछन् जसका कारण चालकदेखि यात्रुसम्म बसको फुटेको सिसाले घोचेर र सिसा छेडेर आएको ढुंगा लागेर घाइते हुने गरेका छन् ।
आन्दोलनकारीले हानेको ढुंगाबाट बढी क्षति बसलाई हुने गरेको सुरक्षाकर्मीहरू बताउँछन् । ‘बसको संख्या पनि धेरै, सिसा पनि बढी हुने भएकाले जोखिम बसका यात्रुलाई नै हुन्छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘एउटा बस चालकको हातमा करिब ४० जना यात्रुको ज्यान हुन्छ ।’