कतार नेपालको असल मित्र : उपराष्ट्रपति पुन

465 पटक पढिएको

सम्पादक: Dhading News

images (2)२२ मङ्सिर । उपराष्ट्रपति नन्दबहादर पुनसँग नेपालका लागि कतारका राजदूत अहमद जासेन मोहम्मद अली अल हमरले आज उपराष्ट्रपति कार्यालय बहादुरभवनमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा उपराष्ट्रपति पुनले कतार नेपालको असल मित्र भएको बताउँदै चार लाख नेपाली मजदुर उक्त मुलुकमा कार्यरत रहेको समेत स्पष्ट पार्नुभयो ।

नेपाली अर्थतन्त्रको एउटा आधार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण भएको उल्लेख गर्दै उहाँले कतारले आयोजना गर्न लागेको २०२२ को विश्कपको सफलताको शुभकामना पनि दिनुभएको उपराष्ट्रपति पुनका स्वकीय सहसचिव तुलसी डाँगीले जानकारी दिनुभयो ।

उपराष्ट्रपति पुनले नयाँ संविधान कार्यान्वयनको क्रममा विभिन्न भौतिक पूर्वाधारहरु पनि निर्माण गर्नुपर्ने हुँदा सोको लागि नेपाली जनताले कतारसँग सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले नेपालको संविधान उत्कृष्ट भएको बताउनुहुँदै नयाँ संविधानले उत्पीडित जाति, वर्ग, समुदाय र क्षेत्रको उज्ज्वल भविष्यको सङ्केत गरेको बताउनुभयो ।

सो अवसरमा कतारका राजदूत अल्लाहमरले नेपाल कतारका असल मित्र भएको बताउँदै हालको विकसित कतार बनाउन नेपालीको पनि हात रहेको बताउनुभएको थियो ।

कतारका राजदूतले सन् २०२२ को विश्वकपलाई सफल पार्न कतार सरकारले गरिरहेको सबैखाले तयारीमा नेपालीको श्रम र पसिना परेको स्पष्ट पार्दै आफ्नो मुलुक धेरै मुलुकको श्रम गन्तव्य भएपनि नेपाली कामदार प्राथमिकतामा पर्ने बताउनुभयो । रासस