गृहमन्त्री बस्नेतद्वारा आत्मआलोचना, गल्ती नदोहोर्‍याउने प्रतिबद्धता

602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

shaktiधादिङ मंङ्सिर २९ -गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको नाममा असम्बन्धित व्यक्तिलाई चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गर्नुभएको छ ।

एकीकृत नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितका नाममा असम्बन्धित व्यक्तिलाई चीन पठाएको विषयमा लिखित रुपमा आत्मआलोचना गर्दै र आउँदा दिनमा त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठक सुरु हुनेबित्तिकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित रुपमा आत्मआलोचना गर्न वा राजीनामा दिन मन्त्री बस्नेतलाई निर्देशन दिनुभएको थियो । गृहमन्त्री बस्नेतले आफ्नो ध्येय र जोड भूकम्प प्रभावित १४ जिल्लाका नागरिक, तल्लास्तरका पार्टी कार्यकर्ता नै चीन भ्रमणमा जाउन भन्ने रहेको उल्लेख गर्दै नहुनुपर्ने गल्ती भइसकेको बताउनुभएको थियो ।

भूकम्प पीडितको कोटामा एमाओवादी अध्यक्ष प्रचण्डकी नातिनी र गृहमन्त्री बस्नेतका छोरी र भतिजीलगायत नजिकका आफन्त चीन भ्रमणमा पठाइएको थियो । एमाओवादीको स्थायी समितिको बैठकमा समेत सरकारमा सहभागी मन्त्रीको कार्यशैली गलत र अमर्यादित रहेको भन्दै चर्को आलोचना भएको थियो ।

पार्टी प्रवक्ता दिनानाथ शर्माका अनुसार कार्यशैलीलगायतका विषयमा गृहमन्त्री बस्नेतले आफ्नो धारणा राख्नुभएको र आउँदो दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउनुभएको बताउनुभयो ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा नेता हेमराज भण्डारी, गङ्गाबहादुर कार्कीलगायतले एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कार्यशैलीले पार्टीको साख गिरेको भन्दै फिर्ता बोलाउनुपर्ने माग गर्नुभएको थियो ।

त्यही मागबमोजिम अध्यक्ष प्रचण्डले चीन भ्रमण प्रकरण छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सरकार सञ्चालन तथा समन्वय समितिका संयोजक एवं उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीको कार्यशैली परम्परागत भएको, आफूखुशी गरेको भन्दै सो समिति भङ्ग गर्न माग गर्नुभएको थियो ।

मागबमोजिम सबै मन्त्रीलाई राखेर अध्यक्ष प्रचण्डले पार्टीको निर्देशनभन्दा बाहिर गएर कुनै काम नगर्न, आफूखुशी निर्णय नगर्न तथा पार्टीको साख गिर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिनुभएको हो ।

सोमबारको बैठकमा उपाध्यक्ष श्रेष्ठ, सचिव गिरिराजमणि पोखरेल, नेता सन्तु दराईलगायतले धारणा राख्नुभएको थियो । मंसिर १५ गतेबाट सुरु भएको बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएको छ ।

बैठकमा पार्टीका नेताले उठाएका विभिन्न प्रश्नको जवाफ दिने कार्यक्रम रहेको पार्टी कार्यालयका सचिव जोखबहादुर महराले जानकारी दिनुभयो । रासस