शौचालय नहुँदा बाल्टिनमा शौच गर्छन् कैदीबन्दी

598 पटक पढिएको

सम्पादक: Dhading News

jail धादिङ पुस २- जिल्ला कारागार मुस्ताङमा शौचालय नहुँदा यहाँका कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ । उनीहरू रातको समयमा कोठाभित्रै बाल्टिनमा शौच गर्न बाध्य छन् । कारागार परिसरभित्र शौचालय नहुँदा बाहिर खुल्ला चौरमा शौच गर्न कैदीबन्दी बाध्य छन् । उनीहरूले तत्काल शौचालयको व्यवस्था गरिदिन आग्रहसमेत गरेका छन् । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण थप समस्या उत्पन्न भएको कारागार व्यवस्थापनले जनाएको छ । कारागारभित्रै शौचालय नहुँदा कैदीबन्दीदेखि कार्यालयका सबै कर्मचारीलाई शौच गर्न समस्या भएको कारागारका जेलर ऋषिराम बरालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ जनाका क्षमता रहेको कारागारमा अहिले दुई महिला र ६ पुरुषसहित आठजना कैदीबन्दी छन् । “शौचालयको एकदमै समस्या छ, कैदीबन्दी रातको समयमा बाल्टिन र विभिन्न भाडामा शौच गरिरहेका छन्”, जेलर बरालले भन्नुभयो, “यसका लागि कारागार व्यवस्थापन विभागसँग कुरा भए पनि काम हुन सकेको छैन ।” कैदीबन्दीले आफूहरूलाई सरकारले थप अन्याय गरेको गुनासो व्यक्त गरेका छन् । जीर्ण भवनमा बस्दा समस्या उत्पन्न भएको बताइएको छ । धेरै समय पहिला निर्माण गरिएको भवनमा अहिले तीनवटा कोठा मात्र रहेका छन् । त्यसैमा कैदीबन्दी कोचिएर बस्न बाध्य भइरहेको छ । कारागारको चौतर्फी सुरक्षाका लागि पर्खाल, भवन र तारबारको लागि माथिल्लो निकायमा कुरा राखिए पनि पूरा हुन नसकेको हो । रासस