हप्ता दिनभित्रै पुनर्निर्माण प्राधिकरणले पूर्णता पाउने

524 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ पुस ७ -उद्योगमन्त्री सोमप्रसाद पाण्डेले एक हप्ता भित्रै पुनर्निर्माण प्राधिकरणले पूर्णता पाउने बताउनुभएको छ । हप्तादिन भित्र प्रमुख कार्यकारी (सिइओ) नियुक्त गरिने र यसै हप्ता प्राधिकरणलाई पूर्णता दिइने मन्त्री पाण्डेले बताउनुभयो ।

उज्यालोसँग कुराकानी गर्दै मन्त्री पाण्डेले भन्नुभयो ‘पुनर्निर्माण सम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरिसकेको हुनाले प्राधिकरण गठनको ढोका खुलेको छ, हामी ढिला नगरी हप्तादिनभित्रै प्राधिकरणलाई पूर्णता दिई काम अगाडि बढाउँछौं ।’

‘भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सरकारले नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा विकास योजनाको विषयमा कम्तिमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा १५ वर्षको अनुभव हासिल गरेका व्यक्ति मध्येबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने व्यवस्था छ ।

पुनर्निर्माण सम्बन्धी यस्तो छ सरकारको योजना

सरकारले पुनर्निर्माण प्राधिकरणसँगै जिल्ला स्तरमा जिल्ला समन्वय समिति गठनको कामलाई पनि सँगसँगै लैजाने भएको छ । प्राधिकरणबाट भए गरेको काम कारवाहीमा समन्वय गर्न प्रत्येक जिल्लामा सांसदको संयोजकत्वमा जिल्ला समन्वय समिति गठन गर्ने विधेयकमा उल्लेख छ ।

समन्वय समितिको नेतृत्व सांसद मध्येबाट नेपाली वर्णानुक्रमको नाम अनुसार प्रत्येक ६ महिनामा पालैपालो गरी गर्ने व्यवस्था छ । प्राधिकरणलाई पूर्णता दिने वित्तिकै तत्काल एक महिनाभित्र दुई लाखको पहिलो किस्ता भूकम्प पीडितको हातमा पुर्‍याउने सरकारको योजना छ ।

पहिलो किस्ताको कामको आधारमा दोस्रो किस्ता पनि तत्काल उपलब्ध गराउने र घर निर्माण भइसकेपछि अन्तिम किस्ता पनि उपलब्ध गराउने उद्योग मन्त्री पाण्डेले बताउनुभयो ।

सरकारले दिएको अनुदानले अपुग भएमा सामुहिक जमानीको आधारमा सहुलियत दरमा थप तीन लाख रुपैयाँ ऋण पनि लिन सक्ने उहाँले  बताउनुभयो । उज्यालोबाट