गोरखाका अधिकांश पानीका मुहानमा कोलिफर्म !

461 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ पुस ८ – गोरखाको गाउँ–गाउँमा रहेका अधिकांश पानीका मुहानमा कोलिफर्म मिसिएको पाइएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले गरेको अध्ययनमा अधिकांश मुहानमा मानव दिसाको मात्रा (कोलिफर्म) मिसिएको भेटिएको हो । खानेपानी उपभोक्ता महासङ्घ गोरखासँग समन्वय गरी नेवाले गाउँगाउँमा पानीका मुहान खोज्ने, दर्ताका लागि सहयोग गर्ने र कोलिफर्म भए÷नभएको पहिचान गर्ने काम गर्दै आएको छ । जिल्लाका ३० भन्दा बढी गाविसमा पानीका मुहानबारे अध्ययन गरिसकेको नेवाले जनाएको छ । नेवाका हरि रिमालका अनुसार कोलिफर्म देखिएका पानीका स्रोतमा निर्भर रहेका गाउँलेलाई पानी शुद्धीकरण विधिबारे जानकारी गराइएको छ । पानी उमालेर मात्रै खाने, पोटासको प्रयोग गर्ने र फिल्टरहरूको प्रयोगमा जोड दिइएको रिमालले बताउनुभयो । सदरमुकाम क्षेत्रका प्रायः कुवामा पनि कोलिफर्मको मात्रा देखिएको छ । साथै नेवाले सोमबार सदरमुकाममा कार्यक्रम गरी विभिन्न गाविसको खानेपानी तथा सरसफाइ रणनीतिक योजनाबारे जानकारी दिने पुस्तक पनि विमोचन गरेको छ । महासङ्घका अध्यक्ष देवीप्रसाद श्रेष्ठबाट तयार पारिएको सो पुस्तकको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले विमोचन गर्नुभएको थियो ।