देशभरको मौसममा बदली,चिसो बढ्यो

709 पटक पढिएको

सम्पादक: Dhading News

1931393_503383073203106_3015076555313659139_nधादिङ । काठमाडौँ उपत्यका र आसपासका  धादिङ ,मकवानपुर नुवाकोट, रसुवा,काभ्रे लगायतका जिल्लाहरुका साथै  देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ ।धादिङ जिल्लाको उच्च भेगमा हिमपात भएको छ भने जिल्लाभर हल्का बर्षा पछि अत्याधिक चिसोको महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले देशभरिकै मौसममा बदली आएको हो । पछिल्लो बदलावसँगै मुलुकभर नै हल्का वर्षा हुन सक्नेछ ।

उच्च हिमाली क्षेत्र र तथा उच्च पहाडी क्षेत्रमा चर्को हिमपात हुने विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँलगायत पश्चिमी क्षेत्रमा बुधबार पनि मौसम बदली हुनेछ ।

 मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, रसुवा, सिन्धुपाल्चोकको उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण भूकम्पबाट घरबारविहीन भएका भूकम्पपीडित बढी समस्यामा परेका छन् ।

विभागका अनुसार मुलुकभरको मौसम बिहीबारबाट मात्रै क्रमिक सुधार आउनेछ तर बुधबार भने अत्यधिक चिसो हुने र हिमपातको मात्रासमेत बढ्ने अनुमान गरिएको छ । आज मुलुकभरको मौसम बदली भई आकासमा बादलले ढाकेको भए पनि पूर्वी क्षेत्रको अवस्था भने सामान्य नै रहेको थियो ।

पश्चिमी वायुको चाप क्रमशः पूर्वतिर सर्दै जाँदा भने काठमाडौँलगायतका स्थानमा मौसम सामान्य बन्ने विभागको भनाइ छ । शुक्रबारबाट मात्रै मौसममा सुधार आउने अनुमान गरिएको मौसमविद् कँडेलले बताए ।

आज राति र बुधबार दिउँसो मुलुकका केही स्थानमा हल्का वर्षा हुनेछ । आज काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९.७ डिग्री सेल्सियस पुगेको छ ।

जुम्लाको तापक्रम माइनस ४.६ डिग्री सेल्सियस रहेको छ भने दीपायलमा ३.६, डडेल्धुरा ३.४, वीरेन्द्रनगर ४.०, दाङको ५.४ डिग्री सेल्सियस तापक्रम रहेको छ । जिरी ०.६, जोमसोम माइनस २.५ तापक्रम रहेको छ ।

विभागका अनुसार मौसममा आएको बदलीका कारण उच्च हिमाली क्षेत्रमा हुने हवाई उडान प्रभावित हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पनि ‘भिजीविलिटी’ असाध्यै कम रहेको कारण उडानमा समस्या भएको थियो । ‘‘आफूहरुले जोखिम लिएर उडान नगर्न विमान सेवा प्रदायकलाई आग्रह गरेका छौँ ।’’

बुधबार तथा बिहीबार पनि मौसम बदली हुने भएकाले हवाई उडान अवरुद्ध हुनसक्ने भएकाले जबर्जस्ती उडान नगर्न विभागले आग्रह गरेको छ ।