पूजापाठमै सकिन्छ सरकारी ढुकुटीबाट १ करोड बजेट
843 पटक पढिएको

![eQmhgx? cf/tLdf ;xefuL ;fpgsf] clGtd ;f]daf/ cfh kz'kltgfy dlGb/sf] cf/tLdf eQmhgx? ;xefuL x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;](https://r0d.ed3.myftpupload.com/wp-content/uploads/2016/10/to_worship_the_annual_1_million_budget1518.jpg)
काठमाडौं,- देशभरका मठमन्दिरमा पूजा गर्न सरकारले वार्षिक एक करोड रुपैयाँ खर्च गर्ने गरेको छ । सरकारले चालू आर्थिक वर्षमा मन्दिर र शक्तिपीठमा पूजा गर्न एक करोड १६ लाख ५२ हजार चार सय रुपैयाँ विनियोजन गरेको खबर नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् ।
विनियोजित रकममध्ये करिब ६५ प्रतिशत बजेट दसैँको वेलामा हुने पूजा तथा बलिमा खर्च हुने गरेको निवृत्तभरण व्यवस्थापन कार्यालयका प्रमुख शिवनाथ पौडेलले बताए । विनियोजित बजेट दसैँबाहेक अन्य विशेष पूजामा पनि खर्च हुने गरेको छ ।
पूजाआजाका लागि सरकारले विनियोजन गर्ने बजेट हरेक वर्ष बढ्ने गरेको छ । गत आर्थिक वर्षमा पूजा सामग्री तथा पशुबलिका लागि एक करोड १२ लाख ३२ हजार रुपैयाँ विनियोजन भएको थियो ।
चौपाया बलिका लागि साढे ८१ लाख बजेट
सरकारले चालू आर्थिक वर्षमा चौपाया बलिका लागि ८१ लाख ४५ हजार सात सय रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, पूजाआजा गर्न ३४ लाख ९६ हजार सात सय रुपैयाँ छुट्याएको छ ।
धुप, धजा, प्रसादसहित २१६ प्रकारका पूजा सामग्री पूजामा प्रयोग गर्ने गरिन्छ । मल्लकालदेखि नै मन्दिर तथा विभिन्न शक्तिपीठका लागि बजेट विनयोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख पौडेलले भने, ‘हिन्दूधर्मका लागि निवृत्तभरण व्यवस्थापन कार्यालयले खर्च गर्दै आएको छ । अन्य धर्मावलम्बीका लागि छुट्टै निकायबाट पैसा व्यवस्थापन गरिन्छ ।’
दसैंमा धेरै बलि हनुमानढोकामा
सबैभन्दा धेरै बलि दसैँको वेला हुने गरेको छ । देशभरका मठमन्दिरमा कति चौपायाको बलि हुन्छ भन्ने तथ्यांक भने निवृत्तभरण व्यवस्थापन कार्यालयसँग छैन । तर, सबैभन्दा धेरै बलि हनुमानढोका दरबारका मठमन्दिरमा दिने गरिन्छ । त्यहाँ दसैँको अष्टमीमा ५४ राँगा र ५४ बोका तथा नवमीमा ५४ राँगा र ५४ बोका बलि दिने गरिन्छ । चैतेदसैँको अष्टमीमा पनि ५४ राँगा र ५४ बोका बलि दिने व्यवस्था रहेको निवृत्तभरण व्यवस्थापन कार्यालयका प्रमुख शिवनाथ पौडेलले बताए । यस वर्षका लागि पनि टेन्डर प्रक्रियाबाट पूजा सामग्री र बोका तथा राँगा खरिद गरिएको उनको भनाइ छ ।