भूकम्पले चर्काएको कुलेखानी जलविद्युत आयोजनाको अवस्था नाजुक

1165 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विनाशकारी भूकम्पले चर्काएको धेरै संरचनाको पूर्ननिर्माणको अबस्था निकै नाजुक छ । नेपालको एक मात्र जलाशययुक्त आयोजनाका रुपमा रहेको कुलेखानी जलविद्युत आयोजनाको भूकम्पले चर्किएको ड्याम बाहिरी लेप मात्र लगाएर छोपिएको छ । विनाशकारी भूकम्पले चर्काएको ’रकफिल्ड’ अर्थात भिरालो माटोको सतहमा ढुंगा भरेर बनेको जलाशयको ड्याम उत्तरमा फुकेको पानीको सतहतर्फ केही मिटर तल धसिएको थियो । अहिले यस क्षेत्रमा चार पाङग्रे सवारी साधनमा प्रतिबन्ध समेत लगाइएको छ ।

e7b9034e85131896ea7b66d9c35732ec
मानव निर्मित यो नेपालकै नमूना आयोजनाका रुपमा विकास भएपछि यहाँ हरेक दिन उल्लेखनीय मात्रामा बाह्य तथा आन्तरिक पर्यटक समेत आउने गर्दछन् । यसलाई इन्द्रसरोवर तालको नाम दिइएको छ । तर भूकम्पले चर्काएको भौतिक संरचना देख्दा यहाँ आउनेहरु संशकित हुने गरेका छन् । पञ्चायतकालीन समयमा सन् १९८२ मकवानपुरको मार्खु र कलंकी क्षेत्रमा बाँध बनाएर ६० मेगावाटको कुलेखानी पहिलोको आयोजना निर्माण सम्पन्न भएको थियो भने सन् १९८६ मा ३२ मेगावाटको दोस्रो जलविद्युत आयोजनाले पूर्णता पाएको थियो । जापान सरकारको अनुदानमा त्यतिबेला ६ करोड ८० लाख अमेरिकी डलर र १२ अर्ब १५ करोड जापानी येन मा निर्माण सम्पन्न भएको थियो ।
तत्कालीन समयमा ५० वर्षसम्मका लागि जलाशय तथा बाँध चल्ने सक्ने गरी डिजाइन गरेर बनाइएको थियो । ड्याम सय वर्षसम्म कायम रहने दाबी गरिए पनि निर्माण भएको एक वर्षमै भत्कने खतरा रहेको दक्षिण अमेरिकाको पेरुस्थित ’माउन्टेन फोरम’ अनलाइन पत्रिकाले किटान गरेपछि अमेरिका, क्यानडा, अस्टे्रलिया र जापानका उच्च भूगर्भ–प्राविधिक टोलीलाई त्यसको अध्ययन गर्ने जिम्मा दिएर टोलीको सिफारिसमा ड्याम थप बलियो बनाइएको थियो । अब चर्किएको संरचनाको के गर्ने भन्ने बारेमा ठोस कुरा बाहिर आएको छैन ।
भूकम्पले ड्यामको उत्तर र दक्षिण दुवैतर्फ चर्किएको थियो । सडकको रुपमा प्रयोग भएको ड्यामको तीन–चार ठाउँमा चर्किएकाले त्यसको सुक्ष्म अध्ययनका लागि जापानिज संस्था जाइकाका केही विशेषज्ञ तथा प्राविधिकको टोलीले अध्ययन गरी फर्किएको छ । उच्च प्रविधि र उपकरणको प्रयोग गरी स्थलगत रुपमा अध्ययन पश्चात रिपोर्ट तयार पारि पठाइएको उत्पादन तथा सञ्चालन सम्भार निर्देशनालयका निर्देशक हरिराज न्यौपानोले जानकारी गराउनुभयो । ड्यामको भित्री भागमा कति क्षति पुगेको छ भन्न केही समय लाग्ने न्यौपानेको भनाई छ ।

मार्खु र कलंकी वरपरका ९ वटा खोला थुनेर साढे ७ किलोमिटर क्षेत्रफलमा बनाइएको जलाशयमा ४४ लाख १६ हजार क्युबिक मिटर पानी सञ्चय गर्ने सक्ने क्षमताको छ । उक्त जलाशयलाई आधार मानेर अहिले १४ मेगावाटको कुलेखानी तेस्रो समेत बनिरहेको छ । देशकै गौरवको आयोजनाका रुपमा रहेको यस्ता आयोजनामा राज्यको गम्भिरता र चनाखोपन देखाउन सम्बन्धितहरुले सुझाएका छन् ।