जिल्लाले सहमति गर्न नसकेपछि केन्द्रबाटै स्थानीय तहको खाका

548 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

स्थानीय निकाय पुनःसंरचना आयोगले माग गरेको स्थानीय तहको संख्या र सीमा निर्धारणमा सहमति नभएका जिल्लाबाट स्थानीय सहयोग प्राविधिक समितिले जिल्लाबाट आयोगमा खाका पठाउन सुरु गरेका छन् । आयोगले गाउँपालिका, नगरपालिका तथा इलाकाको संख्या, सीमा र केन्द्र स्थानीय राजनीतिक दल सहमतिमा सिफारिस गरी पठाउन स्थानीय जिल्ला विकास समितिअन्तर्गतको प्राविधिक समितिलाई अग्राधिकार दिएको थियो ।

यद्यपि, आयोगले दिएको सुझावमा स्थानीय तहमा विभिन्न राजनीतिक दल तथा सरोकारवाला निकायबीच स्थानीय तहको संख्या, सीमा र केन्द्रमा सहमति नहुँदा प्राविधिक समितिमार्फत आयोगमा खाका पठाउन सुरु गरिएको हो ।

 

ललितपुरमा ७ स्थानीय तह
दलबीच सहमति हुन नसकेपछि जिल्लास्तरको स्थानीय निकाय पुनःसंरचना प्राविधिक समितिले सात तहको प्रस्तावित खाका स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाएको छ । एक महानगरपालिका, एक उपमहानगरपालिका, दुई नगरपालिका र चारवटा गाउँपालिकासमेत गरेर ७ तह प्रस्ताव गरिएको जिल्ला विकास समितिले जनाएकोे छ ।
स्थानीय निकाय पुनःसंरचना आयोगले तोकेको अन्तिम मितिसम्म सहमति हुन नसकेपछि प्राविधिक समितिले नै सो खाका पठाएको हो । दलले भने दलको भूमिकालाई बेवास्ता गरेको आरोप लगाउँदै समितिले पठाएको खाकाप्रति असन्तुष्टि जनाएका छन् ।
जिविसले केन्द्र पुल्चोक नै रहने गरी हालको ललितपुर उपमहानगरपालिकालाई ३० वडा बनाएर महानगरपालिका प्रस्ताव गरेको छ ।उपमहानगरपालिकाको केन्द्र सिद्धिपुर पानीट्यांकी हुने प्रस्ताव गरिएको छ ।
यस्तै, केन्द्र छम्पीमा रहने गरी बज्रविनायक नगरपालिका प्रस्ताव गरिएको छ । बज्रबाराही नगरपालिका र कार्यविनायक नगरपालिकामा देवीचउर गाविससमेत मिलाएर सो नयाँ नगरपालिका प्रस्ताव गरिएको हो ।
प्युटार, आश्राङ, गिम्दी र ठूला दुर्लुङ रहने गरी बागमती गाउँपालिका प्रस्ताव गरिएको छ । यो गाउँपालिकाको केन्द्र सुवाने बेसीमा राख्न भनिएको छ भने दक्षिण पूर्वमा पर्ने पाँच गाविसलाई समेटेर बन्न लागेको महाकाल गाउँपालिकाको केन्द्र गोटीखेलमा राख्न प्रस्ताव गरिएको छ । गोटीखेल, बुखेल, मानिखेल, चन्दनपुर, कालेश्वर गाविस यस गाउँपालिकामा पर्नेछ । तामाङ जाति संरक्षित केन्द्रका रूपमा प्रस्ताव गरिएको कोन्जेसोम गाउँपालिकामा नल्लु, भारदेउ, चौघरे दलचोकी र शंखु गाविस परेका छन् । सो गाउँपालिको केन्द्र चौघरेको नामले चौर केन्द्र प्रस्ताव गरिएको छ । भटेडाँडा केन्द्र रहनेगरी घुसेल, माल्टा, भट्टेडाँडा र इकुडोल गरेर चार गाविसलाई खानीखोला गाउँपालिका प्रस्ताव गरिएको छ ।

 

काभ्रेमा १४ स्थानीय तह
काभ्रेपलाञ्चोकमा स्थानीय तह पुनःसंरचनाका लागि प्राविधिक सहयोग समितिले पुनःसंरचना आयोगलाई १४ तहको स्थानीय तह हुने गरी प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा छ नगरपालिका र आठ गाउँपालिका हुने उल्लेख छ । ८ गाउँपालिका र ६ नगरपालिका सहित १४ स्थानीय निकाय हुने एउटा र माओवादी केन्द्रसहित केही साना दल एक उपमहानगरपालिकासहित १२ स्थानीय निकायका पक्षमा भएपछि फरक फरक प्रस्ताव प्राविधिक समितिमा पेस भएको थियो ।

 

सिन्धुलीमा ८ स्थानीय तह
स्थानीय तह पुनःसंरचनाका लागि प्राविधिक सहयोग समितिले पुनःसंरचना आयोगलाई ८ वटा तहको स्थानीय तह हुने गरी प्रतिवेदन बुझाएको छ । स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक शिवप्रसाद हुमागाईंको टोलीले बुझाएको प्रतिवेदनमा तीन नगरपालिका र पाँच गाउँपालिका हुने उल्लेख छ । सिन्धुलीका कमलामाई र दुधौली नगरपालिकासँगै नयाँ फिकल नगरपालिका बनाउने प्रस्ताव पनि गरिएको छ ।
प्रस्तावित फिकल नगरपालिकामा अहिलेका खोलागाउँ, भुवनेश्वरी, डुँडभन्ज्याङ, पोखरी, खाङ्साङ, सोल्पाठाना र रत्नावती गाविस समावेश हुने बताइएको छ । स्थानीय तह पुनःसंरचनाका लागि प्राविधिक सहयोग समितिले कमलामाई नगरपालिकामा कमलामाई नगरपालिकासँगै जलकन्या, भद्रकाली, रतनचुरा, तीनकन्या, रानीचुरी र रानिवास गाविस समावेश हुनेछन् ।
दुधौली नगरपालिकामा दुधौली नगरपालिकासँगै हतपते, निपाने, सिर्थौली, जिनाखु, अरुणठाकुर र ककुरठाकुर गाविसलाई पनि समावेश गरिएको छ । गाउँपालिकामा महाभारत गाउँपालिकामा भीमस्थान, बेलघारी, जरायोटार, बालाजोर, बाहुनतिल्पुङ, महादेवडाँडा, लाम्पान्टार र आम्बोटो गाविस तथा सुनकोसी गाउँपालिकामा कुशेश्वर दुम्जा, झाँगाझोली रातमाटा, पुरानो झाँगाझोली रातमाटा, शीतलपाटी, मझुवा, वासेश्वर र भीमेश्वर गाविसलाई समावेश गरिएको छ ।
यस्तै घ्याङले गाउँपालिकामा नेत्रकाली, शान्तेश्वरी, तामाजोर, अमले र बस्तीपुर गाविस, हरिजितपुरगढी÷हरिहरपुरगढी गाउँपालिकामा हरिहरपुरगढी, पिपलमाढी, महेन्द्रझ्याडी, क्यानेश्वर गाविस र पञ्चकन्या÷मरिणठाकुर गाउँपालिकामा कपिलाकोट, कल्पवृक्ष, महादेवस्थान र डाँडीगुरासे गाविसलाई समावेश गरिएको छ ।

 

स्याङ्जामा स्थानीय तहको जिम्मा समितिलाई
यसैबीच स्याङ्जामा स्थानीय तह पुनःसंरचनाअन्तर्गत जिल्लामा ११ केन्द्र बनाउने भने पनि दलबीच सहमति हुन नसक्दा ढिलाइ भएको छ । जिल्लालाई ५ नगरपालिका र ६ गाउँपालिका गरी ११ केन्द्र बनाई सिफारिस गर्ने भनिए पनि अन्तिम समयमा आएर दलबीच भूगोलमा नमिलेपछि सहमति हुन नसकेको हो । स्याङ्जामा पुतलीबजार, भीरकोट, वालिङ, चापाकोट र गल्याङ नगरपालिका हुन् भने गाउँपालिकातर्फ आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा अर्चले, हरिनास र कालीगण्डकी बनाउने लगभग निश्चित भएको छ । सिफारिसमा परेको गल्याङ प्रस्तावित नगरपालिका हो ।
नगरपालिकातर्फ पुतलीबजारको स्याङ्जाबजार, भीरकोटको बयरघारी, वालिङको वालिङबजार, चापाकोटको सुन्तलीटार र गल्याङको गल्याङबजार केन्द्र रहने छ । दलबीच भएको सहमतिअनुसार गाउँपालिकातर्फ भने आँधीखोलाको सेतीदोभान, फेदीखोलाको फेदीखोलाबजार, अर्जुनचौपारीको अर्जुनचौपारीबजार, बिरुवा अर्चलेको बिरुवाबजार, हरिनासको चिसापानी र कालीगण्डकीको मिर्मी वा बिर्घाको भुष्टुङलाई केन्द्र बनाइने भएको छ ।