ऋण काढेर घर बनाउँदै धादिङका भूकम्पपीडित

1174 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bhukumpa-pidit-new-house-58ba13abefe841.61825256

धादिङः भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरण गर्न ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेको छ । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिनाअघि नै दोस्रो किस्ता वितरणको अख्तियारी दिने निर्णय गरेको भए पनि पीडितले भने अझै उक्त रकम पाउन सकेका छैनन् ।

नीलकण्ठ नगरपालिका-९ का प्रवलबहादुर दुवाडीले भूकम्प प्रतिरोधी घर बनाउन सरकारबाट अनुदानस्वरूप पाउने रकमको पहिलो किस्ता मंसिरमा लिनेबित्तिकै घर निर्माण सुरु गरे । घरको जग हालेपछि दोस्रो किस्ता दिने भनेर प्रचार गरिए पनि उनले पूरै घर बनाइसक्दासमेत दोस्रो र तेस्रो किस्ताको रकम नपाएपछि अन्योलमा परेका छन् ।

प्रवलबहादुरले भने, ‘घरको जग हालेदेखि इन्जिनियरले हेर्न आउँछ, जग भूकम्प प्रतिरोधी छ÷छैन बुझेर सिफारिस गरेपछि दोस्रो किस्ता पाइन्छ भन्थे, सरकारले भनेअनुसार नै बनाइएको छ, हेर्न इन्जिनियर पनि आएका छैनन्, फोटो खिचेर नगरपालिकामा पनि बुझाइयो तर पैसा पाउने कहिले होे कहिले केही थाहा छैन ।’

नीलकण्ठ-९ कै सुमन दुवाडीले पनि सरकारी मापदण्डअनुसार दक्ष प्राविधिककै सहयोगमा भूकम्प प्रतिरोधी नयाँ घर बनाइसकेका छन् तर उनको घरको मूल्यांकन गरिपाऊँ भनेर नगरपालिकामा निवेदन दिएको २ महिना भइसके पनि न मूल्यांकन भएको छ न त उनले दोस्रो किस्ताको रकम पाउने टुंगो नै लागेको छ । सुमनले भने, ‘अनुदानकै पैसामा भर परेर घर बनाइयो, पहिलो किस्ता बल्लबल्ल पाए पनि दोस्रो किस्ता कहिले हो कहिले ? घर बनाउने मिस्त्रीलाई ज्याला र काठपात खरिद गर्न पनि १५ प्रतिशत ब्याजदरमा साना किसान सहकारीबाट ऋण निकालेको छु, अब दोस्रो किस्ता लिँदा त ब्याजै तिर्न नपुग्ने पो हो कि भन्ने अवस्था भइसक्यो ।’

उत्तरी धादिङको सत्यदेवी गाविसका सोमबहादुर तामाङले पनि तालिम लिएको र रेडियो टिभीमा देखिएको भूकम्प प्रतिरोधी घरको प्रचारप्रसारकै भरमा तालिम प्राप्त सिकर्मी-डकर्मी लगाएर घर बनाउन थालेका छन् । घर बनाउँदै गर्दा माटो मुछिरहेका बेला उनले प्रश्न गरे, ‘जग पूरा हुनेबित्तिकै दोस्रो किस्ता आउँछ भन्थ्यो, हाम्रो त छाउन मात्रै बाँकी छ । दोस्रो किस्ता पाउन पाए जस्ता किनेर छाउन हुन्थ्यो । कहिले दिन्छ होला ? ‘

सोमबहादुरको मात्र होइन, पहिलो किस्ता लिएर घर बनाउन थालेका धादिङका ग्रामीण क्षेत्रका अधिकांश भूकम्पपीडितले गर्ने साझा प्रश्न हो यो । नलाङका वीरबहादुर सिलवालले भने, ‘पहिलो किस्ताले जग खनियो, ऋण खोजेर गारो तुरियो । अब सरकारले दिने भनेको दोस्रो किस्ता नपाएसम्म घर छाउने उपाय छैन ।’

घरको जग हालिसकेका भूकम्प प्रभावितले दोस्रो किस्ता छिट्टै पाउने खबरले खुसी भएकाहरू घर सम्पन्न भइसक्दासमेत दोस्रो किस्ता उपलब्ध नगराउँदा निरास बनेका छन् । जनताको आवश्यकताभन्दा आआफ्नै दुनो सोझ्याउने काम गर्न र आफूअनुकूल काम गराउनका लागि प्राधिकरण प्रमुख फेर्नचाहिँ सरकार लागिपरेकाले भूकम्पपीडितको वेदनामा सरकार गम्भीर नभएको भन्दै स्थानीय आक्रोशितसमेत भएका छन् ।

निजी आवास निर्माण अनुदानको पहिलो किस्ता ५० हजार लिएर घर निर्माण गरिरहेकाहरूले जतिसक्दो चाँडो दोस्रो किस्ता उपलब्ध गराइदिन आग्रह गरेका छन् । कुम्पुर-२ का भीमसेन मगरले भने, ‘अर्को किस्ता चाँडै आइहाल्छ भनेर घर बनाउन थालियो, आधा काम सकिएको छ, अहिले तत्काल पैसा पाइएलाजस्तो छैन । ऋणसमेत नपाएपछि घर बनाउने काम रोकिएको उनले गुनासो गरे ।

घरको जग हालिसकेका भूकम्प प्रभावितले दोस्रो किस्ता छिट्टै पाउने खबरले खुसी भएकाहरू घर सम्पन्न भइसक्दासमेत दोस्रो किस्ता उपलब्ध नगराउँदा निरास बनेका छन् ।

दोस्रो किस्ता माग गर्नेमा कुम्पुर, नलाङ, जीवनपुर, सुनौलाबजार, कल्लेरीलगायत गाविसका धेरै छन् । दोस्रो किस्ताको माग गर्दै गाविस कार्यालयमार्फत पीडितले निवेदन दिए पनि तालुक निकायमा पुगेको छैन । गाविस कार्यालयका अनुसार भने दोस्रो किस्ता माग गर्दै एक गाविसमा एक सयदेखि २ सयसम्म निवेदन परेका छन् । थाक्रे गाविसमा २ सय, जीवनपुरमा एक सय, कुम्पुरमा एक सय ५० हाराहारीमा दोस्रो किस्ताका लागि निवेदन दर्ता भएको गाविस सचिवले बताएका छन् ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका प्रमुख एवं जिल्ला आयोजना कार्यान्वयन इकाइका संयोजक दिलीप भण्डारीले पहिलो किस्ता लिनेको तुलनामा ज्यादै न्यून संख्यामा दोस्रो किस्ता लिने निवेदन परेको जानकारी दिए । भण्डारीले भने, ‘जिल्लामा पहिलो किस्ता लिएर करिब ३५ सय घर र पहिलो किस्ता लिनुअघि नै करिब २ हजार घर बनेको प्रारम्भिक सूची आएको छ । तिनीहरू सबैजसो दोस्रो किस्ता लिन योग्य रहेको रिपोर्टिङ भए पनि करिब २ सयले मात्रै निवेदन दिएका छन् ।’

जिविस र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा त दोस्रो किस्ता माग गरेर जिल्लाबाट एउटै पनि निवेदन परेको छैन । प्राधिकरण समन्वय कार्यालय धादिङका रविचन्द्र पञ्जियारले भने, ‘गाउँ-गाउँबाट दोस्रो किस्ता माग भएको खबर सुनेका छौं तर हामीकोमा अहिलेसम्म एउटा पनि निवेदन आइपुगेको छैन ।’
उनका अनुसार दोस्रो किस्ताको तत्काल आवश्यकता परेको भए पनि माग गर्ने तरिका र प्रक्रिया नजान्दा समस्या भएको हो । मापदण्डअनुसार पहिलो किस्ता पाइसकेर आधारभूत तहको निर्माण कार्य सम्पन्न गरिसकेकाहरूले दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

-अन्नपूर्ण पोष्टबाट