लोप हुन लागेको खैंजडी भजन जोगाउन सक्रिय हुंदै छत्रेदेउरालीबासी

2829 पटक पढिएको

१५ चैत्र २०७३, मंगलवार १३:११ सम्पादक: धादिङ न्यूज

– जनार्जन पौडेल

1-10

दुनियाँ पप र रकमा झुमिरहेकै बेला धादिङको क्षत्रेदेउराली गाविस अर्थात हालको धुनीबेसी नगरपालीकाका युवाहरु भने पुरातन संस्कृति जोगाउन तल्लिन देखिएका छन् । यसमा उनीहरुलाई साथ दिएका छन् स्थानिय तोयानाथ रिजाल र उद्दव कँडेलले । नेपाली समाजमा पाश्चात्य संस्कृतिको बोलवाला बढीरहेकै बेला स्थानिय युवा तथा बृद्धबृदाहरु भने आफ्नो राष्ट्रको मौलिक संस्कृतिलाई मर्न दिन हुन्न आगामी पुस्तालाई पनि हस्तान्तरण गर्दै लानु पर्दछ भनेर लागि परेका छन् ।जसलाई सबै गाउँबासीले सराहनिय मानेका छन् ।

batsaladevi

छत्रेदेउरालीस्थित प्रसिद्ध बच्छलादेवी ज्वालामुखी मन्दिर

प्रसंग हो स्थानिय बच्छलादेवी ज्वालामुखी मन्दिरको प्रांगडमा प्रत्येक शनिवार हुने गरेको भजन किर्तनको । नेपालका धेरै मठ मन्दिरमा भजन किर्तन हुन्छन, यो कुनै नौलो कुरा होइन तर बच्छलादेवी मन्दिरमा हुने भजन किर्तनको रौनकै बेग्लै छ ।स्थानिय युवा मिलेर त्यहा प्रत्येक हप्ता खैंजेडी भजन मञ्चन भइरहेको छ । जसलाई नेतृत्व गरिरहेका छन् डाँडागाउँ निवासी तोयानाथ रिजालले । यस अघि उद्ध्व कडेलको हार्मोनियम भजनले निरन्तरता पाएकोमा उनीहरुकै पहलमा खैजडी भजनलाई निरन्तरता दिन लागेको उद्धव कडेलले बताएका छन् ।

1
८३ बर्ष काटेका रिजालले खैंजेडी भजन  भट्याउँदा सिंगो गाउँ नै मन्त्रमुग्ध हुन्छ । त्यसैले हरेक शनिवार बिहान बत्सलादेवी प्रांगणमा हिजोआज खैजडी भजन सुन्नकै लागि पनि भीड हुन थालेको छ । उमेरले ८ दशक काटिसकेका रिजाल उत्साहित हुदै भन्छन, ‘यो मैंले जानेको केही कुराहरु पछिल्लो पुस्तालाई हस्तान्तरण गरेर मर्न पाए सन्तोष मिल्थ्यो ।’

2

खैजडी भजनमा रमाउँदै गाउँ घुम्न आएका विदेशी पर्यटकहरु

रिजाल खैजडी भजनको लागि जिल्लाभरी नै कहलिएका व्यक्ति हुन । तर, केही बर्ष अघि देखि युवाहरुको विदेश पलायन र पाश्चात्य संस्कृतिप्रतिको मोहका कारण उनको खैंजडी भजन निश्कृय नै बनेको थियो । मनभरी आफ्नो कला र संस्कृतिलाई बचाउने अभिलाषा बोकेका ८३ बर्षीय तोयनाथ रिजालको अभिलाषा यसकारण पनि पुरा भएको थिएन कि उनका उमेरमा उनका सहपाठीहरु धेरैजसो परलोक गइसकेका थिए ।तर उनको यो इच्छालाई पुरा गरेका छन स्थानिय युवा एवम समाजसेवीहरुले ।जसले उनको सीप ज्ञान र कलालाई आगामी पुस्तालाई हस्तान्तरण गर्ने प्रणका साथ लागिपरेका छन् ।

3

खैजडी भजनका नाईके स्थानिय तोयानाथ रिजाल भजन भट्याउँदै

‘आफूलाई आफ्नो संस्कृति प्यारो लाग्छ चाहे दुनिया जति सुकै पाश्चात्यकरण होस’, स्थानिय युवा गोकुल पौडेल भन्छन ।उनी हरेक हप्ताजसो काठमाडौबाट उक्त भजनमा साथ दिनको लागि छत्रेदेउराली  पुग्ने गर्दछन् । ‘आफ्ना पिताजीले शुरु गरेको अभियानलाई आफूले सक्दो सहयोग गर्दै आएको र बेलाबेलामा काठमाडौबाट गाउँ पुगेरै खैंजडी भजनमा सहभागी हुने गरेको बताउँदछन’ : स्थानियबासी द्धारिका प्रसाद रिजाल । हाल खैजडी भजनमा सालिकराम बाँस्कोटा,नानिबाबु बाँस्कोटा, सैलेन्द्र पाण्डे,चेत बहादुर पाण्डे,रबि पौडेल,सम्भु साप्कोटा,श्याम भारती,बाल्मीका रिजाल लगायत गाउँका थुप्रै युवा तथा वृद्धवृदाले निरन्तर साथ दिंदै आएका छन् । जे होस नेपाली मौलिक कला र संस्कृति जोगाउनमा छत्रेदेउरालीबासीहरु लागिपरेको पाउन सकिन्छ ।

-नेपालपाटीबाट