उर्जामन्त्री र प्रधानमन्त्रीको मिलेमतोमा बुढीगण्डकी आयोजना समिति विघटन
867 पटक पढिएको
काठमाडौंः मुलुकलाई लोडसेडिङ मुक्त वनाउन आंफुहरुले ठुलो भुमिका निर्वाह गरेको भन्दै प्रचारवाजीमा जुटेको अहिलेको सरकारले बहुचचिर्चत १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत्त आयोजना रहस्यमय ढंगबाट विघटन गरिदिएको छ । राष्ट्रिय गौरवका दुई महत्वपूर्ण जलविद्युत आयोजनाहरु अध्ययनको चरणमा रहेको बेला उर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विघटन गरिदिएका छन् ।
विकास समिति मोडलमा रहेका बुढीगण्डकी र नलसिङगाड दुई आयोजनालाई कम्पनीमा रुपान्तरण गर्न काँग्रेसका मन्त्रीहरुले नदिएको भन्दै शर्माले छुट्टै प्रस्ताव लगेर प्रधानमन्त्री दाहाललाई निर्णय गर्न लगाएका हुन । शर्माले यसअघि पनि पटक पटक मन्त्रिपरिषदमा यी आयोजनालाई कम्पनीमा लैजान प्रस्ताव लगेका थिए ।
बिहीबारको मन्त्रिपरिषद पनि शर्माले यी दुई आयोजनालाई कम्पनी मोडलमा लैजान प्रस्ताव लगेका थिए । तर मन्त्रिपरिषदमा प्रकाशशरण महतलगायतले विरोध गरेपछि निर्णय हुन सकेन । महत सोही प्रस्ताव रोक्न भन्दै दिल्ली भ्रमण छोट्टाएर काठमाडौं फर्किएका थिए ।
आयोजना विघटनसँगै दुवै समितिमा कार्यरत कर्मचारीको विचल्लि भएको छ भने आयोजनाको भविश्य पनि अन्योलमा परेको छ । समितिलाई कम्पनीमा रुपान्तरण प्रस्ताव स्वाभाविक र जायज भए पनि एकाएक समिति नै विघटन गर्नुले उर्जा मन्त्रालयका एक उच्च अधिकारी नै आश्चर्यमा परेका छन् ।
यस विषयमा उर्जासचिव अनुप उपाध्यायसँग बुझन खोज्दा उनले फोन उठाएनन । अर्का एक सहसचिवले भने दुवै आयोजना विघटनको निर्णय भएको जानकारी दिए । सत्तासाझेदार काँग्रेससँग कुनै छलफल नै नगरी दाहाल र शर्मा एकाएक विघटन गर्ने निष्कर्षमा पुगेका हुन । उर्जामन्त्री शर्माले शुक्रबार प्रधानमन्त्रीसँगै बसेर मुख्य सचिवलाई प्रस्ताव ल्याउन लगाई विघटनको निर्णय गराएका हुन ।
आफूले भनेअनुसार निर्णय नगर्ने हो भने राजीनामा दिने शर्माले धम्की दिएपछि दाहालले बाध्य भएको निर्णय गरेको उर्जा मन्त्रालय स्रोतको दावी छ । विघटनसँगै निर्माणको लागि तयारी अवस्थामा रहेको बुढीगण्डकी र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीको अवस्थामा रहेको नलसिङगाडको भविश्व अनिश्चित बनेको छ ।
बुढीगण्डकी विघटन गर्नुको मुख्य उद्देश्य यो आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने नियत दाहाल र शर्माका्े देखिन्छ । आयोजना विघटनमा उर्जामन्त्री शर्माले दबाब दिएको भनिए पनि दाहालले मन्त्रिपरिषदमा सत्ता साझेदारसँग छलफल नगरी गोप्यरुपमा निर्णय गर्नुले उनको समेत यसमा स्वार्थ रहेको प्रष्ट हुन्छ ।
गेजुवाको नेपालस्थित एजेन्ट दीपक भट्टले यसअघि एमाले सरकारको पालामा पनि यो आयोजना इपीसीएफ (आफै लगानी जुटाएर निर्माण गर्ने) मोडलमा निर्माण गर्नेगरी लिने प्रयास गरेका थिए । उर्जामन्त्री टोपबहादुर रायमाझीले राजीनामा दिएपछि केही दिनको लागि उर्जा मन्त्रालयको जिम्मेवारी लिएका बिष्णु पौडेलले बुढीगण्डकी गेजुवालाई दिन भन्दै टिप्पणी मन्त्रिपरिषदमा पुर्याए पनि मुख्य सचिवले बैठकमा पेश नगरिदिएकाले रोकिएको थियो । भट्ट खासगरी एमालेमा वामदेवको मान्छे हुन ।
उर्जा मन्त्रालयले जलाशययुक्त आयोजनाको विद्युत खरिद दर प्रतियुनिट १२ रुपियाँ ६० पैसा कायम गरेसँगै आकर्षक फाइदा हुने देखिएपछि गेजुवा जलाशययुक्त आयोजनामा हात हाल्न लालयित हुन थालेका हो । उर्जा माफियाको रुपमा चिनिएका दीपक भट्टको स्वार्थ र डिजाइनमा उर्जामन्त्री शर्मा र प्रधानमन्त्री दाहालले नयाँ सरकार गठन अघि नै बुढीगण्डकी गेजुवालाई दिने तयारीमा लागेको स्रोतको दावी छ ।
दाहाल सरकारको आयु काँग्रेसले वैशाखसम्म मात्रै तोकेको छ । त्यसपछि उर्जा मन्त्रालय आफ्नो हातबाट फुत्किन सक्ने भएकाले त्यसअघि नै बुढीगण्डकी गेजुवालाई दिने तयारी भएको छ । यो कुरामा काँग्रेसका मन्त्रीहरु भने सहमत छैनन् । तर माओवादी अर्को सरकार बन्दा पनि उर्जा आफै राख्ने योजनामा छ ।
दुई खर्ब रुपियाँभन्दा बढी लागत अनुमान गरिएको यो आयोजनामा प्रभावित क्षेत्रका जनतालाई मुआब्जा बितरणको काम भइरहेको छ भने निर्माणको लागि तयारी अवस्थामा छ । तयारी अवस्थामा रहेको यो आयोजना गेजुवालाई दिन हतारिनुले दाहाल र शर्माको यसमा ठूलो स्वार्थ लुकेको देखिन्छ कर्पोरेट नेपाल डट कममा खबर छ ।
चीनमा विश्वकै ठूलो आयोजना निर्माण गर्न सफल भएको गेजुवा नेपालमा पनि बुढीगण्डकी जस्ता रणनीतिक महत्वका आयोजनाहरुको पर्खाइमा रहेको छ । त्यसका लागि गेजुवाका एजेन्ट दीपक भट्ट राजनीतिक दलदेखि मन्त्रीहरुसम्म लबिङ गर्दै आएका छन् । यद्यपि गेजुवा त्रिशुली ३ ए र चमेलिया जलविद्युत आयोजना बनाउन नसकेको भन्दै विवादमा पर्दै आएको छ ।
यता नलसिङगाड आयोजना विकास समिति विघटन गर्नुमा उर्जामन्त्रीको व्यक्तिगत स्वार्थ र इगो देखिन्छ । आफ्नो क्षेत्रको आयोजना भएकोले पनि उनको चासो यसमा बढि भएको हो । नलसिहगढका कार्यकारी निर्देशकसहित केही कर्मचारीलाई भ्रष्टाचार गर्न खोजेको भन्दै अख्तियार दुरुपयोग अनुसनधान आयोगदेखि सार्वजनिक लेखा समितिसम्म लबिङ गरेर उनले मुद्दा हाल्न लगाएका थिए ।
भ्रष्टाचार गरेको नभई गर्न खोजेको भनेर मुद्दा हालिएकाले कुवरसहित सो आयोजनाका कर्मचारीहरु फेरि मुद्दा जितेर आउने प्रवल संभावना देखेपछि आयोजना नै विघटन गरिदिएका हुन । यसबाट कुवरसहित नलसिहगढका कर्मचारीहरले मुद्दा जिते पनि अब कार्यालयमा आएर काम गर्ने ठाउँ बन्द भएको छ ।
कुवरले आफूहरुले कुनै भ्रष्टाचार नगरेको भन्दै आफूहरुलाई बदनियतपूर्ण तरिकाले उर्जामन्त्रीले मुद्दा हाल्न लगाएको बताउँदै आएका छन् । कुवरसँगै भ्रष्टाचारको मुद्दा खेपिरहेका एक कर्मचारीले भने– यो आयोजना जे जे मोडलमा बनाए पनि हुन्थ्यो अहिले अध्ययनको बीचमा समिति विघटन गरिदिएपछि न अब अध्ययन हुन्छ । न आयोजना अब समयमा बन्छ ।
उनले आफूहरुलाई रोक्न मात्रै समिति विघटन गरिएको भन्दै यस्तो बेलामा राष्ट्रहित विपरित निर्णय गर्दा निर्वाचन आयोगदेखि अख्तियारसम्म मौन बसेकोमा गुनासो गरे । ती कर्मचारी भन्छन– हाम्रो मुद्दा अदालतमा छ । अदालतमा मुद्दा हुँदाहुँदै त समिति विघटन गर्न मिल्थेन होला । यस्तो कुरा कस्ले हेर्छ खोई ?