राजमार्ग र त्रिशूली नदीको बीचमा खुलेका बालुवा प्रशोधन केन्द्रले त्रिशूली नदीलाई मात्र होइन, पृथ्वी राजमार्गलाई पनि उत्तिकै प्रदूषित बनाइरहेका छन् । ह्वाइट वाटर र्याफ्टिङका लागि लोकप्रिय मानिने त्रिशूली नदी प्रदूषित बनेपछि पर्यटक नै आउन छाड्ने हुन् कि भन्ने चिन्ताले र्याफ्टिङ व्यवसायीलाई सताउन थालेको छ ।
धादिङको बेनिघाटमा रिसोर्ट सञ्चालन गरेका व्यवसायी यो समयमा सफा र कञ्चन पानीमा र्याफ्टिङ गर्न पाउने हो भने नेपालीहरूसमेत ओइरिएर आउने बताउँछन् । तर, र्याफ्टिङको सिजनमा समेत पर्यटक नदीको पानी देख्नेबित्तिकै नाक खुम्च्याएर फर्कने गरेको व्यवसायीको गुनासो छ ।
२ सय फिरफिरे
त्रिशूली नदीको धादिङ खण्डअन्तर्गत बैरेनीदेखि गजुरीसम्म अव्यवस्थित रूपमा खुलेका झन्डै दुई सयको हाराहारीमा रहेका फिरफिरेले हरेक दिन त्रिशूली नदीलाई प्रदूषित बनाइरहेका छन् । यसबीचमा त्रिशूली नदीमाथिको प्रदूषण नियन्त्रणका लागि पटक–पटक आवाज उठेको भए पनि यसतर्फ खासै प्रगति भएको छैन ।
धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी त्रिशूली नदीमाथिको प्रदूषण रोक्ने विषयमा आफूले धेरै पहल गरेको बताउँछन् । ‘देशकै पवित्र नदीका रूपमा रहेको त्रिशूली नदीको प्रदूषण रोक्ने विषयमा धेरै छलफल भएको छ, नदी व्यवस्थित बनाउने विषयमा सम्बन्धित गाउँपालिकामा जानकारी गराइसकिएको छ, तर परिवर्तन देखिएन,’ उनले भने ।
स्थानीय तह सञ्चालन भइसकेको अवस्थामा आफ्नो क्षेत्रभित्रको अतिक्रमण र प्रदूषण रोक्ने काममा सम्बन्धित गाउँपालिकाले चासो देखाउनुपर्ने प्रजिअ भण्डारीको भनाइ छ । ‘प्रशासनले त एकपटक प्रहरी पठाएर रोक्न सक्ला, तर यसबाट पनि स्थायी रूपमा समाधान त निस्कँदैन,’ उनले भने, ‘स्थानीय तह नै तात्नुपर्छ, ब्याक सपोर्ट हामी गर्छौं ।’
पर्यटन व्यवसायमा असर
त्रिशूली नदीमा बालुवा प्रशोधनले प्रदूषण मात्र बढाएको छैन, पर्यटन व्यवसायलाई समेत नकारात्मक असर पारेको छ । कुनै वेला सफा र कञ्चन पानीका कारण दक्षिण एसियामै उत्कृष्ट र्याफ्टिङ गर्नमिल्ने नदीको उपमा पाएको त्रिशूली नदी पछिल्लो समयमा अतिक्रमणको चपेटामा पर्न थालेपछि निकै कम संख्यामा जलयात्रा हुने गरेको होटेल व्यवसायी बताउँछन् ।
अहिले धादिङको गल्छी गाउँपालिकाको बैरेनीदेखि लिएर बेनीघाट रोराङ गाउँपालिकाको जोगिमारासम्मको क्षेत्रबाट त्रिशूली नदी प्रदूषित बनेको स्थानीयले बताएका छन् । यसमा पनि गल्छी गाउँपालिका र गजुरी गाउँपालिका क्षेत्रमा धेरै बालुवा प्रशोधन उद्योगले फोहर र प्रदूषण गरेको देखिन्छ ।
बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले आफ्नो गाउँपालिकाको क्षेत्रभित्र सञ्चालित रहेका बालुवा प्रशोधन उद्योगलाई बन्द गराइसकेको, तर गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाले व्यवस्थित गर्न नसक्दा समस्था थपिएको आरोप लगाए ।
उता, गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले पनि नदीआसपासका बालुवा प्रशोधन उद्योगलाई व्यवस्थित गर्ने तयारी भएको बताए । ‘हामी यस्ता उद्योगको व्यवस्थापनका लागि काम गरिरहेका छौँ, केही दिनभित्रै नदीमाथि भएको प्रदूषण रोकिन्छ,’ अध्यक्ष बस्नेतले भने । तर, दिनको समयमा बन्द गरी रातिको समयमा फिरफिरेहरू सञ्चालन हुने गरेको स्थानीयको आरोप छ ।
——————————————————————————————–
धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र टुविटर मार्फत पनि जोडिन सक्नुहुन्छ ।