अंग्रेजी नयाँवर्षसँगै नेपाली टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाइँदै
87 पटक पढिएको
काठमाडौं,१७ पुस २०८१ । आज अंग्रेजी नयाँ वर्ष इस्वी संवत् सन् २०२५ को पहिलो दिन । आजको दिनमा नेपालमा पनि नयाँवर्षसँगै नेपाली टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाइँदैछ।
विश्वभर अंग्रेजी नयाँ वर्षको रौनक चलिरहँदा नेपालमा भने यसका साथै राष्ट्रिय टोपी र पोसाकको प्रवर्द्धनका लागि पोसाक र टोपी लगाएर झण्डा फहराउँदै नेपाली पोसाकको पहिचान र परम्पराको जगेर्ना गरेको पाइन्छ।
केही वर्षदेखि नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै स्वतःस्फुर्त रुपमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो। जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ।
विगत केही वर्षदेखि जनवरी १ मा ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै आएको छ । स्वतःस्फुर्त रूपमा नेपाली युवाहरूले अंग्रेजी महिनाको जनवरी १ तारिखको दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका छन् । नेपाली टोपी नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित होस् भन्ने उद्देश्यले यो अभियानको थालनी भएको बताइन्छ ।
सामाजिक सञ्जालबाट सुरु उक्त अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन जागरूक युवाहरू लागिपरेका छन् । नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले आ-आफ्नो धर्म, जाति र संस्कृतिअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ ।