पर्वतकाे एक गाँउ, जहाँ मांशहारी भोजन चल्दैन

1101 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

पर्वत । यो २१औं शताब्दीमा अचम्म लाग्न सक्छ तर पर्वतको नाग्लीवाङ–७, पल्लो नाग्लीवाङ अर्थात् शालिग्राम धाममा आजसम्म पनि तामसी अर्थात् मांशाहारी भोजन गर्दैनन् । अधिकत्तर मानिस मासुमंश विनाको भोजन गर्न छाडिसकेको वर्तमान समयमा मासुमंश विनाको सात्विक भोजन गर्ने गाउँ फेला पार्न कठिन हुन सक्छ ।  तर शालिग्रामधामका ४५ परिवारले भने सात्विक भोजन मात्र गर्ने गरेका छन् ।

हत्याहिंसा, काटमार निषेध गरिएको उक्त गाउँका सबै घरधुरी मासुमंशका अलावा भान्सामा लसुन, प्याजसमेतको प्रयोग गर्दैनन् । त्यति मात्र नभएर व्यावसायिक तरकारी खेतीको उच्च सम्भावना रहेको सो ठाउँमा लसुन र प्याजको खेती समेत गरिएकोे छैन । ‘सबैखाले तरकारी खेती गरिन्छ तर लसुन र प्याज नखाने भएकाले सोको खेतीपाती समेत गरिएको छैन,’ नाग्लीवाङ–७ का हरिनारायण रेग्मीले भने । रेग्मीका अनुसार यहाँका स्थानीय हिन्दू धर्मभित्रको वैष्णव सम्प्रदायसँग नजिक भएकाले आफूहरूले काटमार र लसुन प्याजको सेवन नगर्ने बताए ।

‘हिंसारहित गाउँ बनाउनका लागि शालिग्राम उपाध्याय (शालिकराम गुरु) को ठूलो देन रहेको छ,’ नाग्लीवाङ–७ निवासी डिल्लीराम रेग्मीले भने, ‘हामी हिंसारहित समाज निर्माण गर्नुपर्छ भन्ने मान्यतामा छौं । यसका लागि हाम्रो गाउँ सबैका लागि उदाहरण बन्न सक्छ ।’ धौलागिरि अञ्चल सदरमुकाम बागलुङ बजारदेखि ठीक पूर्व कालीगण्डकी पारी रहेको पर्वतको नाग्लीवाङ–७ हिंसारहित गाउँ मात्र नभएर प्राकृतिक भूबनोटले समेत निकै मनमोहक छ । प्राकृतिक सौन्दर्यले भपरिपूर्ण पल्लो नाग्लीवाङमा व्यावसायिक कृषिको समेत प्रशस्त सम्भावना रहेको छ ।

ग्रामीण रहनसहन, बोलीमा सरलता, चेहरामा प्रसन्नता बोकेका यहाँका अधिकत्तर स्थानीयको दिनचर्या भने कृषिकर्मसँगै बितिरहेको हुन्छ । हिंसा र काटमारको विगविगी बढिरहेको र तामसी भोजन गर्नेहरूको बाहुल्य बढिहेको वर्तमान समाजका लागि उपल्लो नाग्लीवाङका रेग्मीहरू सात्विक भोजनका लागि प्रेरणाका श्रोत बन्न सक्छन् । साथै धर्म, संस्कृति, रितिरिवाज र चालचलन अध्ययन गर्नेहरूका लागि गतिलो पाठ बन्न सक्छन् ।