सेमजोङमा एक लाख राशीको ‘वाका कप फुटबल’ प्रतियोगिता हुंदै

1444 पटक पढिएको

सम्पादक: Dhading News

नेत्रावती– वाकाको पहिचान फुटबल र वाकाको बिकास हाम्रो अभियान भन्ने नाराका साथ नयाँ बर्ष २०७६ को अवसरमा धादिङको उत्तरी भेगमा पर्ने नेत्रावती डवजोङ गाउँपालिकाको सेमजोङ गैरामा दशौं वाका कप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लामै सबैभन्दा धेरै पुरस्कार धनराशी भएको यो प्रतियोगिताका बिजेताले एक लाख पाँच हजार नगद प्राप्त गर्ने छन् ।
न्यू वाका राहा युवा क्लव धादिङले आयोजना गर्दै आईरहेको वाका कप फुटबल नौ वर्ष देखि हुँदै आएको छ । प्रतियोगिता खुल्ला भएकाले देशभरका फुटवल प्रेमी खेलाडीहरु प्रतियोगितामा सहभागी हुन पाउनेछन् । यस बर्षको प्रतियोगिता यहि चैत्र २२ गते सुरु भएर २०७६ बैशाख १ गते सम्म संचालन हुनेछ ।
धादिङ र नुवाकोट जिल्लाका विभिन्न क्लब तथा समुहहरुको सहभागिता रहने यो वाका कप संस्करणको दशौं वाका कप फुटबल प्रतियोगितामा प्रथम हुनेले एक लाख पाँच हजार, दोश्रो हुनेले पचपन्न हजार पाँच सय पचपन्न नगद सहित ट्रफी मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने आयोजक संस्थाका महिन्दो वाईबाले जानकारी दिनु भयो ।
वाका कप नाम किन राखियो ?
धादिङ जिल्लाको नेत्रवती डबजोङ गाउँ पालिका वडा नं ३ गैरा साबिक सेम्जोङ १ गैराको “वाका” धादिङ जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य हो । समुन्द्री सतह देखि करिब २ हजार १५० मिटर उचाईमा अवस्थित यो ठाउँले धादिङ र नुवाकोेट जोडेको छ, पछिल्लो समय यो ठाउँमा पर्यटकहरुको आकर्षण समेत बढ्दो छ ।
यो ठाउँको पहिचान गराउन प्रचार प्रसारको साथै बिश्वमा निकै लोकप्रीय रहेको फुटबल खेलको बिकास र युवाहरुमा फुटबल खेलप्रतिको अभिरुची बढाउन गैराका युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल आयोजना गर्दै आएको पनि वाईबाले धादिङ न्यूजलाई वताउनु भयो ।

नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको प्रतियोगताबाट धादिङको सेम्जोङ मार्पाक,कटुन्जे, धादिङबेसीका साथै र नुवाकोटको बर्सुन्चेत देउराली किम्ताङ सामरी बुम्ताङ लगायतका विभिन्न स्थानका मानिसहरुको जमघट गाउँमा बढ्नेछ । साथै वाका कपको आयोजनाले वाकालाई पर्यटकीय स्थलका रुपमा चिनाउनुका साथै आन्तरिक पर्यटकको संख्या पनि बढाउने आयोजकको दावी छ । यस्ता प्रतियोगिताले युवाहरुमा फुटबल खेलको अभिरुची बढाउनुका साथै खेलको माध्यमबाट यु्वाहरुमा मित्रताको बिकास हुने वताईएको छ ।