जन्मदिनमा ‘सुनको पिंजडा’ खोलिन सृजनाले
2468 पटक पढिएको
धादिङ – केही समय यता धादिङ जिल्लामा साहित्यिक गतिविधि निकै सुस्त हुन पुगेको छ । देश विदेशमा समेत ख्याती कमाएका दर्जनौं चर्चित साहित्यकारहरुको जिल्ला धादिङको साहित्यिक अभियान सुस्ताउँदै कृति प्रकाशन गर्ने क्रम घट्दै गईरहेको बेला साहित्यकार सृजना अर्याल अधिकारीको ‘सुनको पिंजडा’ कविता संग्रह बजारमा आएको छ । जिल्लाका साहित्यकारले राजधानीमा गएर आफ्नो कृति विमोचन गर्ने चलनलाई तोड्दै धादिङकी सृजना अर्याल अधिकारीले आफ्नो जन्मदिनमा सदरमुकाम धादिङबेसीबाटै कविता संग्रह सार्वजनिक गर्नु भएको हो ।
धादिङ जिल्लामा रहेका अगुवा साहित्यकार तथा काठमाण्डौलाई कार्यथलो बनाएका साहित्यकारहरुको जमघट पारेर आफ्नो जन्मदिनको अवसरमा असार २१ गते प्रगतिशील साहित्यकार तथा कवयित्री अर्यालको ‘सुनको पिंजडा’ नामक पुस्तक बिमोचन गरिएको हो ।प्राध्यापक राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा भएको पुस्तक विमोचन समारोहमा ५४ कविता समेटिएको सुनको पिंजडा विमोचन गरिएको थियो । कार्यक्रममा साहित्यकार नरनाथ लुईंटेल, प्राध्यापक डा.रामचन्द्र लम्साल, लिलानाथ पौडेल, रामहरि लम्साल, होम सुवेदी, कोषराज न्यौपाने ,हरि खनाल लगायतको आतिथ्यमा अधिकारीको सुनको पिजँडा खोलिएको हो । कार्यक्रममा जिल्लाका पुराना तथा नवोदित साहित्यअनुरागीहरुको जमघट रहेको थियो ।
मानवता र मानवतावाद, जन्मभूमी र देशको महिमा गान, राष्ट्रवाद, समाजका विभेदहरुको चिरफार, प्रगतिशील सन्देश, महिलामाथि हुने विभेद र समानताका लागि आवाजहरु कवितामा समेटिएका छन् ।२०७२ को भूकम्पपछि देश प्रेम, साँस्कृतिक रुपान्तरण, दुःख, पीडा समेटिएका सबै कविताहरु ११ किसिमका छन्दमा लेखिएका छन् । सुनको पिँजडा भित्र रहेको कविताका केही हरफहरु यस्ता छन् ।
म नेपाल आमा खुसी देख्न पाऊँ
सबै देसबासी सुखी देख्न पाऊँ
ल साथीहरु हो १ कुनै मार्ग खोज
कहाँ के गरुँ ? त्यो मलाइ नसोध ।
बोक्दै पीडा छटपट गरी बाँच्नुपर्दैछ मैले
पुछ्दै आँखा मनमन रुँदै हाँस्नुपर्दैछ मैले
के बिर्सूँ खै सबतिर उहि सम्झना सल्बलायो
मात्रै तिम्रो हर तरहको याद बल्झेर आयो
ल्यायौँ जंगलबाट अजाज यसरी पासो लगाईकन
राख्यौ भित्र अमूल्य स्वर्ण पिंजडा साँचो लगाईकन
ख्वायौ अन्न र भोजनादि कति हुन् नाना र चाचा कति
सारा कर्म गर्यौ म स्वर्णपिंजडा भित्रै रमाउँ भनी ।
चिसा रात गरीबका घर कठै छानो चुहेको पल
न्यायो छैन कतै र छैन डसना तातो लुगा कम्बल
कक्र्यो ज्यान असाध्य लाग्छ ठिहिरो झैँ दन्त कट्काउने
काँप्छन् हात र ओठ थर्थर गरी जाडो नआए हुने ।