जनकवि केवलपुरे किसानको ९९ औं जन्म जयन्ती मनाईयो

130 पटक पढिएको

सम्पादक: Dhading News

लामिडाँडा ( धादिङ) ३० चैत २०८१ । जनकवि केवलपुरे किसानको ९९ औं जन्म जयन्ती उहाँकै जन्मथलो धादिङको थांक्रे गाउँपालिकाको वडा नम्बर १० को ठुलो पोखरीस्थित केवलपुरे किसान पार्कमा  मनाईएको छ ।

शनिवार थांक्रे गाउँपालिकाको वडा नम्बर १० च्युरीपाटी ठुलो पोखरीस्थित केवलपुरे किसान पार्कमा  साहित्यिक बसाईको आयोजना गरि जनकवि किसानको जन्मजयन्ती मनाईएको हो । बरिष्ठ साहित्यकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा धादिङ र काठमाण्डौबाट आएका साहित्यकारहरुले आफ्नो रचना बाचन समेत गरेका थिए ।

केवलपुरमा जन्मेर देश विदेशमा गाउँको नाम चिनाउन सफल राष्ट्रिय विभूती जनकवि केवलपुरे किसानको योगदानको कदर गर्दै उहाँ जन्मिएको गाउँमा शालिक निर्माण गरिएको छ ।

विक्रम संवत १९८३ साल चैत २९ धादिङको केवलपुरमा माता विद्यादेवी र पिता हरिप्रसाद पौडेलको सुपुत्रका रुपमा जन्मेका कवि किसानको वास्तविक नाम देवीप्रसाद पौडेल हो । सहित्य सिर्जनाबाट शोषित, पिडित, गरिब, निमुखा किसानका भाषा वोल्ने तिनै देवीप्रसाद पौडेल २०१६ सालपछि ‘केवलपुरे किसान’का रूपमा नेपाली लोक साहित्यमा छाएका हुन ।
किसानको पहिलो रचना २००५ सालमा लक्ष्मीप्रसाद देवकोटाद्वारा सम्पादित युगवाणी मा छापिएको थियो । त्यसपछि बाघ आयो (२००९), नेपाल नछो (२०१०), समातेर पछार (२०१२), छिःछिः (२०१५), सङ्घर्षको ठीक गर (२०१६), शङ्कैशङ्का (२०५४), बोकी खस्यो (२०५४) लगायतका गीत र कविता सङ्ग्रह प्रकाशित भए । आफ्नो चिनारी आफ्नै शब्दमा (सवाई), २०१६ पछिका रचनाहरू र केवलपुरको आन्द्रा भुँडी (सुन्ने कविता संग्रह) का साथै जीवनसँगिनी सावित्रीलाई गुमाएपछि आँसुको पोखरी (२०५८) शोककाव्य पनि प्रकाशित छन । जनजिव्रोको ठेट तथा झर्रो भाषामा कविता लेख्न रुचाउने कविका रुपमा किसान परिचित छन् । कवि किसानको लेखनी दुखी, गरीब नागरिकका समस्या, सरकारी बेथिति र रुढीबादीको चित्रण गर्दै सामाजिक जागरणतर्फ केन्द्रित रहेको पाईन्छ । केवलपुरे किसानको अधिकांश रचना नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित रहेको पाईन्छ ।

बाहुनले हलो जोत्न हुँदैन भन्ने सामाजिक कुसंस्कारका बिरुद्ध २००६ सालमा धादिङको केवलपुर लामिडाँडामा हलो जोतेर कृषिक्रान्तिको नायक वन्नु भएका कवि किसानलाई तत्कालिन शासकहरुले जात काट्नुका साथै गाउँमा बस्न नदिएर दुःख दिएका थिए । राष्ट्रियता, प्रजातन्त्र गरिव जनताको पक्षमा शशक्त भएर कलम चलाउने कवि किसानको जीवनको अन्तिम क्षणसम्म पनि उत्तिकै जोशिलो देखिनुहुन्थ्यो । केवलपुरे किसानको मृत्यु २०६८ साल असोज २१ गते काठमाण्डौंमा भएको हो । किसानका दुई छोरा र एक छोरी हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *