गजुरी २ का चुडामणी कँडेलको रहस्यमय हत्या
4098 पटक पढिएको

धादिङ, ३० चैत २०८१ । रहस्यमय ढंगबाट हत्या गरिएका धादिङको गजुरी २ का चुडामणी कँडेलको शुक्रवार दाहसंस्कार गरिएको छ ।
चैत २७ गते आफ्नै घरको शौचालयमा क्षत विक्षत अबस्थामा कँडेलको शव भेटिएको थियो । कँडेलको हत्या भएको भन्दै दोषिको पहिचान गरि कारवाही गर्न परिवार तथा आफन्तले माग गरेका छन् ।
कृषि तथा पशुपालन पेशा गरेर गाउँमै बस्दै आईरहेका कँडेल घर परिवारको सम्पर्कमा नआएपछि खोजी गर्दै जाँदा घरको शौचालयमा बाहिरबाट चुकुल लगाएको अबस्थामा शव भेटेको मृतककी भान्जी सुस्मिता पाण्डेले जानकारी दिनु भयो ।हत्या कस्ले किन गरेको हो भन्ने खुल्न नसकेको र मामाले कसैलाई हानी नोक्सानी हुने कुनै काम समेत नगर्नु भएकाले कायरतापूर्वक हत्यामा संलग्न जो कोही भएपनि अनुसन्धान गरी दोषिलाई कारवाही हुनुपर्ने पाण्डेले वताउनुभयो ।
गाउँघरमा कोही संग दुष्मनी र वैरभाव समेत नभएका कँडेलको क्रुरतापूर्वक हत्या गरिएको अबस्थामा शव भेटिंदा घरपरिवार, छरछिमेकी मात्रै होइन जो कोहीको आँखाबाट आँसु झरिरहेको नेकपा एमाले गजुरीका नेता माधव भण्डारीले बताउनु भयो ।
कँडेलको शवको परिक्षण गरी शनिवार मलेखु दोभानमा दाहसंस्कार गरिएको छ । नेकपा एमालेका संगठित सदस्य एवम् नेकपा एमाले गजुरी २ टोल कमिटीका उपाध्यक्ष समेत रहेका कँडेलको शवमा नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य देवप्रसाद त्रिपाठीले पार्टीको झण्डा ओढाउनु भएको थियो ।
दाहसंस्कार गर्नु अघि नेकपा एमाले गजुरी २ ले मलेखु दोभानमा कँडेललाई श्रद्धाञ्जली दिएको थियो । पार्टीका तर्फबाट सम्वोधन गर्दै एमाले नेता भण्डारीले कँडेलको हत्या रहस्यपूर्ण भएको र यस घटनाको निष्पक्ष छानविन गरी दोषि माथि कारवाही गर्न स्थानीय प्रहरी प्रशासन संग माग गर्नुभएको थियो ।
स्वर्गिय कँडेलको एक छोरा उच्च शिक्षा अध्धयनका लागि क्यानडामा रहेको, छोरी र श्रीमती भने काठमाण्डौंमा बस्दै आईरहेका थिए । कँडेल भने गाउँमै रहेर कृषि तथा पशुपालन पेशामा संलग्न रहँदै आएका थिए ।