गाउँ गाउँमा चुनाव केन्द्रित राजनीतिक सरगर्मी बढ्दै

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङ जिल्लामा राजनीतिक सरगर्मी बढ्दै गएको छ । राजनैतिक दलहरुले गाउँ गाउँमा चुनाव केन्द्रित भेला, प्रशिक्षण, कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमलाई तिव्रता दिन थालेका छन् ।

नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र), नेकपा एस, राप्रपा लगायतका दलले चुनावी अभियानलाई गाउँबस्ती केन्द्रित गर्न थालेका छन् । यसै गरी उम्मेद्ववार छान्नका लागि दलहरुले आन्तरिक तयारी शुरु गरेका छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६८ हजार ४ सय ७२ मतदाता कायम भएका छन । जिल्लामा कायम भएका मतदाता मध्ये महिला १ लाख १७ हजार ६ सय ९५, पुरुष १ लाख ५० हजार ७७६ र अन्य १ जना रहेका छ्न । स्थानीय तहको निर्बाचनमा कायम भएका मतदाता मध्ये २०७९ बैशाख २९ गते १८ बर्ष पूरा भएका ब्यक्तिले मतदान गर्न पाउने आयोगले जनाएको छ ।
धादिङमा नीलकण्ठ नगरपालिकामा ४४ हजार १११, थाँक्रे गाउँपालिकामा २७,१३९ धुनिबेसी न.पा.मा २५,७०१ मतदाता रहेका छन् । त्यसैगरी ज्वालामुखीमा २१,६५७, बेनिघाटमा २१०५५,गल्छीमा २०६५२, सिद्धलेकमा २०४०८, त्रिपूरासुन्दरी गाउँपालिकामा २०२०२ मतदाता रहेका छ्न ।
यसैगरी गजुरीमा १८,६११, गङ्गाजमुनामा १८,२७५, नेत्रावती ११,७९९ खनियावास ९७२९ र सबैभन्दा थोरै मतदाता रुबिभ्याली गाउँपालिकामा ८९५३ जना मात्रै मतदाता रहेका छ्न ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाभर १०९ मतदान स्थल र ३०३ मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ ।
दुईवटा नगरपालिका र एघारवटा गाउँपालिका गरी १३ स्थानीय तह रहेको धादिङ जिल्लामा १०४ वटा वडा रहेको छ ।
आगामी निर्वाचनमा धादिङ जिल्लामा एक लाख ३६ हजार ४३१ पुरुष, एक लाख ३२ हजार ४० महिला र १ जना तेस्रोलिङ्गी गरी कूल दुई लाख ६८ हजार ४७२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
अघिल्लो स्थानीय निर्वाचन २०७४ मा धादिङमा एक लाख २ हजार ९६८ पुरुष, एक लाख ३ हजार ७६ महिला र १ जना तेस्रोलिङ्गी गरी कूल दुई लाख ६ हजार ४५ मतदाता रहेका थिए । यसै गरी २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धादिङमा एक लाख ७१ हजार ३७ जना मतदाता रहेका थिए ।